राष्ट्रिय दैनिक / नवलपरासी ,१५ असार
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ५० लाख २१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १८औँ नगरसभामार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो। नगरसभामा नगरप्रमुख धनपत यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए।

नगरप्रमुख यादवले नगरका गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, रोजगार प्रवर्द्धन, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकताका क्षेत्रमा समेटिएको बताए।

यस्तै, नगर उपप्रमुख सम्झना चौधरीले आगामी आर्थिक वर्षका लागि कुल ९४ करोड ५० लाख २१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा बजेटले समृद्ध रामग्राम निर्माण, सेवा प्रवाहमा सुधार, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन तथा नागरिकमैत्री विकासलाई मुख्य लक्ष्यका रूपमा अघि सारेको जनाएको छ।
नगरसभाबाट नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेपछि रामग्राम नगरपालिका–१४ परसावलस्थित धार्मिक तथा पर्यटकीय स्थल हडहियामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा नगरप्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याइएको बजेट, नीति तथा कार्यक्रमका प्राथमिकता तथा विकास योजनाबारे सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

