हुम्ला, २४ कार्तिक । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा अधिक चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुनथालेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी निरीक्षक तथा बिओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिनुभयो । यहाँको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ । दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको हो । हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएको केसीले जानकारी दिनुभयो । चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मङ्सिर पहिलो सातातिर सिमकोट सर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीको टोली जिल्ला फिर्ता भए पनि सशस्त्र प्रहरी हिउँदको समयमा पनि हिल्सामै रहने छ । मङ्सिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर सर्ने गरेका छन् । हिल्सामा बिओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ । पुस र माघ दुई महिना हुम्लामा अतधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।