३२ साउन, काठमाडौं । अफगानिस्तानको काबुलस्थित विमनस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो ।
तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन विमानस्थल पुगेका छन् । अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ ।
‘मलाई यहाँ धेरै डर लागिरहेको छ । धेरै हवाई फायरहरु भइसकेका छन्’, एक प्रत्यक्षदर्शीले एएफपीसँगको कुराकानीमा भने ।
डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ ।
समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन् । नेटोले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ ।
अहिले हजारौंको संख्यामा अफगानी नागरिकहरु पनि मुलुक छाड्न विमानस्थलमा पुगेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमानस्थलको गेटमा मानिसहरुको ठूलो भीड देख्न सकिन्छ । केही यात्रुहरुलाई उडान रद्द गरिएसँगै विमानबाट निकालिएको देखिएको छ ।
अफगानी व्यवसायी सोएइब बाराकले आफूलाई काम एयरको फ्लाइटबाट निकालिएको बताएका छन् । उनका अनुसार विमानस्थलमा गोली चलेसँगै उडान रद्द गरिएको हो ।
एजेन्सीहरुको सहयोगमा
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

