यस विषयमा विभिन्न व्यक्तिका आ–आफ्नै धारणा र अनुमान छन् । तर, सरुवारोग विशेषज्ञ, महामारीविद्जस्ता स्वास्थ्यकर्मीले भने एउटै विचार व्यक्त गरेको पाइन्छ ।
कोभिसिल्ड
नेपालमा आयात गरिएको पहिलो कोभिड भ्याक्सिन कोभिसिल्ड हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट स्वीकृति प्राप्त यो खोप भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो । यो खोपको १० लाख डोज पहिलो चरणमा नेपाल आएको थियो ।
अहिलेसम्म यो खोपको ३४ लाख ४८ हजार डोज नेपाल आइसकेको छ । नेपालमा कोभिसिल्ड १८ लाख २८ हजार ४ सय ८४ जनाले पहिलो डोज लगाइसकेका छन् । त्यस्तै चार लाख ६० हजार ७ सय ३४ जनाले दोस्रो डोज पनि पाइसकेका छन् ।
यो खोपको विश्वासनीयतामा अहिलेसम्म प्रश्न उठेको पाइँदैन । परीक्षण गरेर नै नेपाल पठाइएको हुनाले यसको विश्वास गर्न लायक रहेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुन ।
पहिलो पटक यो खोप लगाउँदा मानिसहरुलाई जिउ दुख्ने, ज्वरो आउने जस्ता लक्षणहरु देखिएको थियो । यो ‘भाइरल भेक्टर भ्याक्सिन’ हो । यसको निर्माण गर्दा एरिनो भाइरसलाई प्रयोग गरिन्छ । शरीरभित्र कोरोना भाइरसको केही अंश प्रवेश गराई विभिन्न प्रविधिबाट प्रतिरोधात्मक क्षमता निर्माण गर्न यसले मद्दत गर्छ । ‘नन रिप्लिकेटिभ भाइरल भेक्टर’ मा आधारित यस खोपले शरीरमा प्रोटिन निमार्णमा सहयोग गर्छ ।
त्यस्तै, खोप विकासको अर्को प्रविधिमा भाइरसलाई निष्क्रिय पारिन्छ । तर, त्यसो गर्दा केमिकल तथा विभिन्न रसायनको प्रयोग गरी सुरक्षित बनाइन्छ । भारत बायोटेकबाट उत्पादित र भारतको नियमनकारी निकायले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको कोभ्याक्सिन नामक यो प्रविधिमा आधारित भ्याक्सिन हो । भारतको नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा कोरोना भााइरसको एक नमूना प्रयोग गरी यो खोपको विकास गरिएको हो ।
दुई दशक पुरानो यस कम्पनीले १६ थरिका खोप बनाई १२३ देशमा आपुर्ति गरिसकेको बिबिसीको एक रिपोर्टमा जनाइएको छ । तर, यो खोपको तेस्रो चरणको परीक्षण र यसको विकासक्रमबारे प्रश्नहरु उठेका थिए ।
यसबारे डा. पुन भन्छन्, ‘विश्वसनीय छ । यसको प्रयोग विभिन्न देशहरुमा परीक्षणपछि मात्रै गरिएको छ । सोही अनुरुप नेपालमा पनि यसको प्रयोग गरिएको हो ।’
भेरोसेल
चीनमा उत्पादित यो खोप नेपालमा २८ लाख डोज आयात भइसकेको छ । चिनियाँ भेरोसेलको पहिलो डोज १४ लाख ८० हजार २ सय ४६ जनाले प्राप्त गरिसकेका छन् । त्यस्तै, ६ लाख ८२ हजार ७ सय ९० जनाले यस खोपको दोस्रो डोज पनि प्राप्त गरिसकेका छन् । यसको ४० लाख डोज सरकारले चीनसँग खरिद गरेको हो ।
यो खोपको विश्वसनीयताबारे भने डा. पुन भन्छन्, ‘यो खोपले कोभिसिल्डको जस्तो जिउ दुख्ने, ज्वरो आउनेजस्ता असर देखाएको छैन ।’ भेरोसेल भाइरसलाई निष्क्रिय बनाएर बनाइएको भ्याक्सिन हो । यसमा कोरोना भाइरसका किटाणुहरुलाई निष्क्रिय बनाएर शरीरमा प्रवेश गराइन्छ ।
यो खोप नेपालमा प्रभावकारी देखिएको छ । अन्यको तुलनामा धेरै मानिसले भेरोसेल लगाइसकेका छन् । डा. पुन भन्छन्, ‘यसको असर कस्तो छ अथवा अहिलेसम्म कत्तिको प्रभावकारी भएको छ भन्ने सामान्य कुराहरु थाहा भइसकेको छ । यसलाई नेपालमा अहिलेसम्म लगाइएका खोपहरुमा सफल मान्न सकिन्छ ।
जोनसन एन्ड जोनसनको खोप
संसारमा अहिलेसम्म कोभिडविरुद्ध लगाउन मिल्नेमध्ये जोनसन एन्ड जोनसनको खोप पनि एक हो । अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीद्वारा उत्पादित यो खोपको १५ लाख ३४ हजार डोज नेपालले कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त गरेको हो । यसलाई डब्ल्यूएचओले पनि लगाउन अनुमति दिइसकेको छ । यसलाई अमेरिकी एफडीएबाट पनि संसारभरि लगाउन मिल्ने अनुमति दिइएको हो ।
नेपालको स्वास्थ्य मन्त्रालयबाट पनि १८ वर्षमाथिका सर्वसाधरणमा यो खोप लगाउने अनुमति दिएको छ । यसले पछिल्लो समय नेपाली बजार राम्रै तताएको छ । यो खोप अन्यभन्दा फरक खालको छ । यो खोप एक डोज मात्रै लगाए हुने भएका कारण यसको प्रभावकारिताबारे चर्चा चुलिएको हो ।
यो खोपका कारण न्युरोलोजिकल डिसअर्डर जस्ता समस्या आउने कुराहरु पछिल्लो समय नेपाली बजारमा धेरै सुनियो । यसबारे डा. पुन भन्छन, ‘यो खोप धेरै मानिसमा लगाउँदा निकै कममा समस्या देखिएको हो । देश अनुसार रिपोर्ट फरक आउँछ । सबैमा यही प्रकारको लक्षण देखिन्छ भन्ने हुँदैन ।’ यो खोपको सुरक्षितताबारे डब्ल्यूएचओले नै प्रमाणित गरिसकेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा पनि यो खोपलाई एकदमै सुरक्षित मान्छन् । उनले स्वास्थ्य मन्त्रालयबाट बिहीबार सार्वजनिक गरिएको एक भिडियोमा यो कुरा खुलाएका हुन् ।
नेपालमा सीधै बाहिरबाट आयातीत खोप लगाउनु कत्तिको सुरक्षित ?
सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार, नेपालमा आएका कुनै पनि खोप कम प्रभावकारी या बढी प्रभावकारी भन्ने हुँदैन । उनी भन्छन्, ‘नेपालमा आएका सबै खोप सम्बद्ध देशहरुमा परीक्षण गरेर लगाउन अनुमति पाएका मात्रै छन् ।’ तीनै वटा खोप डब्ल्यूएचओले प्रयोग अनुमति दिएका छन् । जसका कारण यो यी सबै खोपकोे प्रयोग ढुक्क भएर गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
‘आपत्कालीन प्रयोगका लागि अनुमति प्राप्त भएका कारण यी खोपहरु प्रयोगमा ल्याउनु असुरक्षित हुँदैन,’ डा. पुनले भने । यी खोपहरु निर्माणका क्रममा विभिन्न चरणका परीक्षण हुने गर्छ । परीक्षण सफल भएपछि तथा अनुमति प्राप्त भएपछि खोप सर्वमान्य भएको पुनको भनाइ छ । यदि अन्य किसिमका रोगका नियमित खोपहरु भएको भए नेपाल सरकारले निश्चित प्रावधान तथा ऐनमा आधारित मापदण्दहरु पालना गर्नुपर्ने हुन्थ्यो ।डा. पुन भन्छन्, ‘यो खोप विभिन्न चरणका परीक्षणहरुबाट सफल भएर तथा विश्व स्वास्थ्य संगठनले प्रयोग अनुमति दिएका कारण प्रयोगमा सुरक्षित मानिएको हो ।’
तीनैवटा खोप उत्तिकै प्रभावकारी छ । यसमा शंका नगरी जतिसक्दो धेरैले खोप लगाउनुपर्नेमा डा. पुनले विशेष जोड दिन्छन् । तेस्रो लहर कहिले आउने हो भन्ने त्रासका बीच खोप अपरिहार्य भएका कारण तीनवटामध्ये जुनसुकै खोप लगाए पनि हुने उनले बताएका छन् ।
अहिलेको समयमा खोप अपरिहार्य रहेको चिकित्सक तथा जनस्वास्थ्यविद्हरुको भनाइ छ । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी पनि खोपलाई जतिसक्दो सहज बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘खोप अपरिहार्य छ । यसले संक्रमण नियन्त्रणमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’ तेस्रो लहरको खतरा अझै नसकिएका कारण खोप लगाउने कार्यलाई जतिसक्दो तीव्र बनाउन उनले सरकारसँग अनुरोध गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

