महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए । सो दिन भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी आफ्नै वडा बस्तीकी महिलामाथि जाइलागेर बलात्कार गरेको उनीमाथि आरोप छ । जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनवाइमा अदालतले पुर्पक्ष थुनाको आदेश गरेको हो । यादवलाई सोमबार साँझ नै महोत्तरी कारागार चलान गरिएको हो । जिल्लामा जारी चालु आर्थिक वर्ष २०७७र७८ मा यस प्रकृतिका घटना ह्वात्तै बढेका छन् । चालु आवको प्रथम चौमासिक अवधिमै हालसम्म २१ वटा जबर्जस्ती करणी र तीन करणी उद्योगसहित २४ वटा घटना दर्ता भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यो सङ्ख्या गत आव २०७६र७७ को तुलनामा निकै बढी हो । गत आवको पूरै अवधिमा १६ जबर्जस्ती करणी र सात करणी उद्योगका घटना दर्ता थिए । यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रास छाएको समयमा आम मानिसका बाह्य गतिविधि घट्दा यस प्रकृतिका आपराधिक घटना भने बढेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट बताउँछन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।