काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।सभामुख अग्निप्रसाद सापकाेटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । उनले विश्वासको मत लिनका लागि प्रस्तावको पक्षमा १३६ मत आवश्यक पर्छ ।
त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउनेछन् । कांग्रेसका दुईजना सांसद निलम्बित अवस्थामा छन् ।विजयकुमार गच्छदार र अफ्ताव आलमले मत दिन पाउने छैनन् । तर कायम संख्यामा भने उनीहरुको गणना हुनेछ ।त्यसैगरी नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चारजना बर्खास्तमा परेका छन् ।
उनीहरु अहिले सांसद पदमा छैनन् ।स्वतन्त्ररुपमा जितेका एक सांसद छक्कबहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले ४९ जनाले मत दिन पाउनेछन् ।नेकपा एमालेमै रहेकाले माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरी शंकर चौधरीलाई माओवादीले बर्खास्त गरेको थियो ।
जनता समाजवादी पार्टीका जम्मा ३२ सांसद रहेका छन् । ३४ मध्ये दुईजना निलम्बित छन् । रेशम चौधरी र हरिनारायण रौनियारले मतदान गर्न पाउने छैनन् ।त्यसैले ३२ मध्ये अधिकांश सदस्य बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षमा रहेको स्रोत बताउँछ ।
यसअघि शनिबार बसेको सो समूहको बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतो समूहका पाँच सांसद उपस्थित भएका थिए ।माधवकुमार नेपाल समूहमा रहेका २३ सांसदमध्ये अधिकांशले संसद् जोगाउन देउवाको पक्षमा मतदान गर्नुपर्ने निष्कर्ष निकालेको एक सांसदले जानकारी दिए ।
सो समूहले मतदान नगरे देउवाले विश्वासको मत प्राप्त गर्ने छैनन् । संसद्मा तत्काल कायम संख्या २७१ को बहुमत अर्थात् १३६ मत देउवाले ल्याउनैपर्ने हुन्छ ।त्यसका लागि अहिलेसम्म कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका २०, राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

