Rashtriya Dainik

कोभिड खोप: खोप लुकाएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालमा तनाव

बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिड विरुद्धको खोप लुकाएको भन्दै विवाद सिर्जना भएको छ।

प्रादेशिक अस्पतालमा आएका खोपमध्ये १ सय ८४ खोप स्टकमा रहेपनि खोप सकिएको भन्दै अस्पतालमा रहेको खोपकेन्द्रले खोप लगाउन रोकेको थियो। 

खोप लगाउन रोकेपछि खोप लगाउन अस्पतालमा लाइन लागेकाहरुले विवाद गरेका छन्।

उनीहरुले स्टकमा रहेका खोप अस्पतालले लुकाएको भन्दै सबै खोप लगाउन माग गरेका छन्। अहिले अस्पताल परिसरमा प्रहरी समेत परिचालन गरिएको छ। 

लुम्बिनी प्रादेशिक अस्पतालमा आएका खोप कर्मचारीले ४ बजेपछि नलगाएर लुकाउन खोजेको खोप लगाउन गएका सर्वसाधारणको आरोप छ। उनीहरुले कर्मचारीले थकाइ लाग्यो भन्ने बहानामा खोप लुकाउन खोजेको सेमलारबाट खोप लगाउन आएका शिक्षक सूर्य बहादुर भण्डारीले आरोप लगाए। 

लुम्बिनी प्रादेशिक अस्पतालले भने खोप कसलाई लगाउने भन्ने अधिकार आफुसँग नरहेको जनाएको छ। अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज शनिबार वैदेशिक रोजगारमा जानेहरुका लागि मात्रै अस्पतालको खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरिएकोमा अरु समूहका व्यक्तिहरु खोप लगाउन आएपछि समस्या आएको बताए। 

‘हामीकहाँ त खोपकेन्द्र मात्रै हो, खोप जिल्लास्तरको खोप व्यवस्थापन समितिले कसरी लगाउने भन्ने निर्णय गर्ने हो, यसमा हामीले स्थान मात्रै दिएका हौं-उनले भने-यसमा हामी भन्दा पनि निर्णय गर्नेहरुले जानकारी गराइदिने कुरा हो, जसलाई लगाउने भनेर तोकिएको छ त्यसैले मात्रै लगाउन पाउने हो, अरुले हामीलाई पनि यहीँ लगाउन पाउनुपर्छ भनेर हुन सक्दैन होला, त्यो अधिकार खोप केन्द्रसँग छैन।’

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित