भैरहवा, साउन १ ।
रुपन्देही जिल्लामा जारी निषेधाज्ञालाई निरन्तरता दिदै साउन १५ गतेसम्म थपिएको छ । जिल्लामा कोभिड–१९ को नयाँ भेरियन्टको महामारीको संक्रमणदर हाललाई केही कम भए पनि जोखिम कायमै रहेकोले निषेधाज्ञालाई निरन्तरता दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
कोरोना संक्रमण फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण तथा उपचार एवं व्यवस्थापनलाई प्रभावकारी बनाउन २०७८ वैशाख १५ गतेको आदेशबमोजिम हुने गरी साउन १ गते बिहान ६ बजेदेखि साउन १५ गते राती १२ बजेसम्म रुपन्देही जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, जुलुस, महोत्सव, पार्टी प्यालेस, सिनेमा हल र हाटबजार सञ्चालन गर्न नपाइने, परम्परागत रुपमा भइ आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजाबाहेक सम्पूर्ण सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाइने, औषधी खरिद तथा औषधी उपचार प्रयोजनार्थ र अत्यावश्यक कामबाहेक अन्य कामका लागि नेपालीहरु बेलहिया नाकाबाट आवातजावत गर्न नपाइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सीमा नाकामा भारत लगायत तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेशलाई पूर्णतया रोक लगाउने र अत्यावश्यक जनशक्ति सम्बन्धित निकायको अनुरोधमा जनस्वास्थ्यका मापदण्ड पालना गरी गन्तव्य विन्दुमा पुर्याउन सहजीकरण गरिने कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । अत्यावश्यक अवस्थामा नेपाल आउनुपर्ने नेपालीहरुको लागि नेपाल प्रवेश गर्न तोकिएको बेलहिया सीमा नाकाबाट आउने नेपालीहरुलाई बेलहियामा रहेको होल्डिङ सेन्टरमा अभिलेखिकरण गर्ने, अनिवार्य रुपमा एन्टिजेन्ट परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आएका नेपालीहरुलाई स्थानीय तहमा क्वारेन्टाइन वा आइसोलेशनसम्म पुर्याउने सूचनामा उल्लेख छ ।

त्यस्तै रुपन्देही जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनसम्बन्धी मापदण्ड एवं स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा बिहीबार जारी गरिएको सूचनामा उल्लेख छ ।
प्रशासन कार्यालयले विश्वविद्यालय, क्याम्पस र अन्य निकायबाट पूर्व निर्धारित परीक्षा कार्यक्रम परीक्षा सञ्चालन हुने हल तथा कोठामा २५ जना बढी नहुने गरी व्यवस्था मिलाउनुपर्ने, बढी भिडभाड हुन नदिन ‘सिफट वाइज’ परीक्षा सञ्चालन गर्नुपर्ने, परीक्षा सञ्चालनको क्रममा सबै परीक्षार्थी र समन्वयकर्ताले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्ने प्रत्येक सिफ्ट पछाडी परीक्षाफल अनिवार्य रुपमा निंसक्रमित गर्नुपर्ने सूचनामा उल्लेख छ ।
औद्योगिक प्रतिष्ठान र विकास निर्माणहरुमा हुन सक्ने सम्भावित संक्रमण नियन्त्रणका तथा त्यहाँबाट हुन सक्ने संक्रमण विस्तारलाई रोकथाम गर्न सुरक्षा तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ ।
रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–विजोर प्रणाली हटाइएको छ । प्रशासन कार्यालयले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाएको छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

