Rashtriya Dainik

कालिकामाईको भ्रष्टाचारबारे बोल्नेलाई धम्काउन दलाल परिचालन

वीरगंज, ८ असार । पर्साको कालिकामाई गाउँपालिकामा भइरहेको अनियमितता र भ्रष्टाचारको समाचार विभिन्न सञ्चार माध्यममा आए पछि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुमा खैलाबैला मच्चेको छ ।
गाउँपालिकामा भए गरेका अनियमित्ता ढाकछोप गर्न गाउँपालिकाका एक वडा अध्यक्षले केही पत्रकारहरुलाई झुक्याई, प्रभावमा पारी आफ्नो पक्षमा समाचार लेख्न लगाएपछि गाउँपालिकाका सचेत वर्गहरु आश्चर्यमा परेका छन् । गाउँपालिकामा भईरहेको भ्रष्टाचारको बारेमा स्थानियवासीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन दिएका छन् ।
गाउँपालिका विरुद्ध कसैले आवाज उठाए वा समाचार लेखे विभिन्न माध्यमहरुबाट दलाल परिचालन गरी धम्की दिन लगाई रहेको एक स्थानिय पिडितले बताए ।
गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको स्थानियको गुनासो बढेपछि कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेर आर्थिक बर्ष २०७७÷०७८ मा संचालनमा रहेको बिकास निर्माण सम्बन्धि जानकारी लिन कार्यालयमा भेटिएका कर्मचारीहरुले बताउँन मानेन् । गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिकाको वेभसाइटमा पनि राखिएको छैन् ।
गाउँपालिकाका सूचना अधिकारी अमित चौरसियासंग सूचना माँग गर्दा आफूलाई जानकारी नभएको बताए । उनले भने, सम्पूर्ण योजना बारे जानकारी हाकिम साहेब संग मात्र छ, उहाँ आएपछि आफै जानकारी गराउँनु हुन्छ ।
कार्यालयमा रहेको दर्ता चलानी रजिष्टरमा खाली ठाउँ राखेर अगाडीको मितिमा दर्ता चलानी गरेको पाइयो ।
प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग बुझन खोज्दा उनको कार्यालयमा ताल्चा लगाईएको थियो । फोन मार्फत पटक पटक सम्पर्क गर्दा फोन उठेन ।
यसै सम्बन्धमा विभिन्न स्थानिय तथा राष्ट्रिय संचारमाध्यमा समाचार प्रकाशनमा आएपछि त्यसको ढाकछोप गर्न दलाल परिचालन गरिइएको हो । सो दलालले गाउँपालिकाको अनियमितता र भ्रष्टाचार ढाकछोप गर्न विभिन्न किसिमको प्रपन्च गरिरहेका छन् ।
आर्थिक मसान्तको अन्तिमको असार महिनामा आएर गाउँपालिकामा संचालित विकास निर्माणको योजनाहरु उपभोक्ता समितिमार्फत काम भइरहेको वताइए पनि ठेक्दारले काम गराईरहेको पाइयो । कागजी पक्रिया मिलाउन मात्र उपभोक्ता समिति गठन गर्ने गरिएको छ ।
गाउँपालिकाबाट भइरहेको ७० लाखको बजेटबाट कालिकामाई मन्दिर निर्माण, गाउँ कार्यपालिकाको लागि खरिद भएको जग्गाको बाउन्डरी वाल निर्माण, धर्मशालाको भवन निर्माणको योजनाहरुको उपभोक्ता समिति मार्फत संचालनमा छन् । तर कालिकामाई मन्दिरको भवन निर्माण र गाउँपालिकाको जग्गाको बाउन्डीवाल ठेक्दारले काम गराइरहेको प्रत्येक्षदर्शशीहरुले वताएका छन् । जुन नियमले मिल्दैन् ।
उपभोक्ता समितिका पदाधिकारीको बारे जानकारी लिन खोज्दा जनप्रतिनिधि र कर्मचारी कसैले बताउन चाहेनन् ।
खोला सफाईमा ४० लाख खर्च
चालु आर्थिक बर्षमा खोला सफाईमा ४० लाख खर्च भएको छ । गाउँपालिका अन्तर्गको गंगोल र बही खोला सफाईमा ४० लाख खर्च भएको गाउँपालिकाका सब इन्जिनियर मिथिलेश यादवले वताए ।
सो खोला सरसफाई पनि उपभोक्ता समिति मार्फत नै भएको उनले वताए पनि उपभोक्ता समितिको अध्यक्षको नाम समेत वताउन सकेन । उनले खोला सरसफाईको इस्टिमेट पनि देखाउन मानेन् ।
खोला सफाईमा १५ देखी २० लाख सम्म मात्र खर्च भएको स्थानियहरुको भनाई छ ।
अन्य योजनामा समेत अनियमितता
गाउँपालिकाबाट वितरण भएको ग्यास सिलिन्डर खरिदमा पनि अनियमितता भएको छ । ग्यास सिलिन्ड खरिदको बारेमा पनि बुझ्न खोज्दा गाउँपालिका कार्यालयमा भेटिएका कर्मचारीहरु कोई बताउन मानेन् ।
४५ सय देखी ५ हजार सम्म पर्ने ग्यास सिलिन्डर र चुल्ला खरिद ६२ सयमा गरेर ठुलो रकमको चलखेल भएको गाउँपालिका स्रोतले जनाएको छ ।
यस्तै, आर्थिक बर्ष २०७७÷०७८ को सुरु मै विपद व्यवस्थापनको रकमबाट जनप्रतिनिधिहरुले भत्ताको नाममा एक÷एक लाख रकम भागवंडा लगाएका थिए ।
गाउँपालिकाको चालुगत खर्चमा पनि अनियमितता
गाउँपालिकाको चालुगत खर्चमा पनि अनियमितता भएको छ । प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह कार्यालयमा भएको दिनको पनि टियडिय बुझेको गाउँपालिका स्रोतले जनाएको छ ।
उनले चेकमा हस्ताक्षर गरेको दिनको पनि टियडिय बुझेको तथ्यले सो कुरा प्रमाणित गर्ने स्रोतको भनाई छ ।
यस्तै, गाउँपालिकाको जनप्रतिनिधिले वीरगंज मै बसेर नक्कली बिल भर्पाई बनाएर टिएडिय बुझेका छन् । यसका साथै काठमाडौे र पोखरा गएर मौजमस्ती गरेको खर्च पनि नक्कली बिल बनाएर रकम निकासा भएको स्रोतले जनाएको छ ।
अख्तियारको ध्यान पुग्न सकेन
गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेको स्थानियहरुको गुनासो छ ।
गाउँपालिकामा भइरहेको अनियमितता र भ्रष्टाचारको सम्बन्धमा अख्तियारमा मुद्दा परेपनि छानविन नभएको स्थानिय उपेन्द्र तिवारीले गुनासो गरे ।
उनले भने “यहाँ नदी सफाईको नाममा ४० लाख खर्च भएको छ तर सडकको अवस्था दैनिय रहेको छ । थोरै पानी परे पनि सडक हिलो मै हुने गरेको छ । बढी कमिशन पाउने ठाउँमा मात्र गाउँपालिकाले काम गरिहरको छ ।”
स्थानिय सरकार बनेको साढे तिन बर्ष भए पनि अहिले सम्म सडक निर्माण नहुँदा स्थानिय बर्षायाममा समस्या भोग्दै आएको उनले वताए । मुख्य सडकमा हिलोयाम, घुडाभन्दा माथि पानी जमेका कारण आवतजावत गर्ने समस्या भईरहँदा पनि जनप्रतिनिधि मुख हेराउँन आउँदैन ।
अर्का स्थानिय मन्टु कुमार रौनियारले हिलोयाम सडकका कारण गाउँमा एम्बुलेन्स, बिहेवारीमा जयन्ती समेत आउँन नसकेको वताए । सिकित्स विरामीलाई तीन चार जना मिलेर एम्बुलेन्स भएको ठाउँमा पु¥याउँनु पर्ने बाध्यता रहेको उनको भनाई थियो ।
बारम्बार जनप्रतिनिधिलाई गुहार लगाउँदा समेत अहिले सम्म कुनै सुनवाई नभएको स्थानिय जोगिन्द्र गिरीले वताए । गिरीले घर घरमा सिंहदरबार पुगेको भनिएपनि अहिले सम्म कालिकामाई गाउँपालिका जनताले सिंहदरबारको अनुभुति भने पाउँन नसकेको वताए ।
जनताको समस्या समाधान गर्नुभन्दा विकास निर्माणको नाममा आफना कारकार्यकर्तालाई भरणपोषण गर्ने काम मात्र भईरहेको उनले गुनासो गरे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित