उमेश बि.क / नवलपरासी, १० जेठ
असंवैधानिक तवरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) नवलपरासीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै साेमबार नवलपरासीको सातै स्थानीय तहमा नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
नेपाल विद्यार्थी संघ निवर्तमान जिल्ला सभापति राजन भण्डारीको नेतृत्वमा विरोध कार्यक्रम गरिएको नेविसंघले जनाएको छ ।
कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयु लम्ब्याउन गरिएको प्रपञ्चलाई नस्वीकार्ने नेविसंघ नवलपरासीको निवर्तमान जिल्ला सभापति राजन भण्डारीले बताए ।

रामग्राम र सुनवल नगरपालिकामा नेविसंघका जिल्ला नेता अर्जुन पौडेल, विकास घिमिरे र इमामुल अलि नेतृत्व, सरावल गाउँपालिकामा रियाज अलीको नेतृत्व, सुस्ता गाउँपालिकामा राज कुमार कुशवहाको नेतृत्व, प्रतापुर गाउँपालिकामा अनोज यादव र अजाज अन्सारीको नेतृत्व र बर्दघाट नगरपालिकामा केदार चौधरी र कमल बस्यालको नेतृत्वमा विरोध कार्यक्रम गरिएको हो ।
संसद विघटनको निर्णय नसच्याए थप आन्दोलन चर्काउने संघले बताएको छ ।

विरोध कार्यक्रममा प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी पुत्ला खोसेर तितरबितर पारेको थियो ।
नेपाली कांग्रेसका जिल्ला सभापतिले आइतबार एक विज्ञप्ती जारी गर्दै वर्तमान सरकारको कदमविरुद्ध आन्दोलनका लागि तयार रहन जिल्लाका पार्टी कार्यकर्ता र शुभेच्छुकलाई अनुरोध गरेका थिए । सोही अनुरोध अनुसार नेविसंघ सोमबार जिल्लाका सबै पालिकामा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

