राजन कुमार बानिया
पर्सा, २९ भदौ
पर्साको पकहामैनपुर गाउँपालिका–२ कटिबलुवामा रहेको ऐतिहासिक श्रीराधाकृष्ण मठ मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। मठको नाममा करोडौँ रुपैयाँ मूल्य पर्ने करिब ६५ देखि ७५ बिघासम्म खेतीयोग्य जमिन रहेको बताइए पनि मन्दिरको भौतिक अवस्था भने दयनीय देखिएको स्थानीयवासीको गुनासो छ।
स्थानीयका अनुसार मठको जग्गाबाट प्रत्येक वर्ष ठूलो परिमाणमा धान उत्पादन हुने गरेको छ। उत्पादन भएको धानमध्ये गुठी संस्थान पर्सामा बुझाउने गरिएको र पुजारीको खानपान, दैनिक पूजापाठ तथा सामान्य व्यवस्थापनका लागि केही धान उपलब्ध गराउने गरिएको बताइएको छ। तर मठमन्दिरको नियमित संरक्षण तथा भौतिक संरचना मर्मतमा भने पर्याप्त ध्यान नदिइएको स्थानीयको आरोप छ।
करिब आठ वर्षदेखि मन्दिर व्यवस्थापन समिति निष्क्रिय रहेको स्थानीयले बताएका छन्। यसअघि दिनानाथ साह तेली व्यवस्थापन समितिको अध्यक्ष रहेको भए पनि हाल प्रभावकारी व्यवस्थापन नहुँदा मठको अवस्था थप जीर्ण बन्दै गएको उनीहरूको भनाइ छ।
स्थानीयको भनाइमा मठको संरक्षण तथा व्यवस्थापनका लागि समिति, पुजारी र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुन सकेको छैन। स्थानीयहरू व्यंग्य गर्दै ‘जुन योगी आए, मठ उजाड’ भन्ने अवस्था देखिएको बताउँछन्।
हाल श्रीराधाकृष्ण मठमा नयाँ पुजारीका रूपमा मनिष पाण्डेले दैनिक पूजापाठ गर्दै आएका छन्। तर मन्दिरको संरचना, जग्गा तथा अन्य सम्पत्तिको दीर्घकालीन संरक्षणका लागि ठोस योजना आवश्यक रहेको स्थानीयको माग छ।
यसैबीच, मठका पूर्वपुजारी भारतीय नागरिक सुरेन्द्र दास बैरागीले मठको सम्पत्तिसम्बन्धी अनियमितता गरेको आरोपसमेत स्थानीयले लगाएका छन्। स्थानीय शिक्षक चन्देश चौहानका अनुसार बैरागीले नेपाली नागरिकता बनाएर मठको केही खेतीयोग्य जमिन आफ्नो नाममा गराएको आरोपमा करिब १५ वर्षदेखि अदालतमा मुद्दा चलिरहेको छ। यद्यपि यस विषयमा अदालतको अन्तिम फैसला के भएको छ भन्ने सम्बन्धमा सम्बन्धित अभिलेख तथा आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।
शिक्षक चौहानका अनुसार मधेश प्रदेशमा मधेश विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्दा कटिबलुवा मठको जग्गा सार्वजनिक प्रयोजनमा उपलब्ध गराउन स्थानीयवासी तयार भएका थिए। तर राजनीतिक खिचातानीका कारण विश्वविद्यालय सो क्षेत्रमा स्थापना हुन नसकेको उनको भनाइ छ।
हाल मठको केही खेतीयोग्य जमिन स्थानीयहरूले आ–आफ्नो तरिकाले जोतभोग गर्दै आएको स्थानीयको दाबी छ। यसबाट मठको वास्तविक आम्दानी, जग्गाको संरक्षण र त्यसबाट प्राप्त हुने उत्पादनको व्यवस्थापनबारे प्रश्न उठेको छ।
मठको जग्गामा ठूलो पोखरीसमेत रहेको र संरक्षणको अभावमा पोखरीको अवस्था पनि दयनीय बन्दै गएको स्थानीय संस्था अध्यक्ष उमेश बैठाले बताए। मठकै जग्गामा प्रहरी चौकीसमेत रहेको उनले जानकारी दिए।
बैठाका अनुसार श्रीराधाकृष्ण मठको जग्गा पकहामैनपुर गाउँपालिका, कालिकामाई गाउँपालिका, धोबिनी गाउँपालिका र पोखरिया नगरपालिका क्षेत्रसम्म फैलिएको छ। यति ठूलो सम्पत्ति रहेको ऐतिहासिक मठमन्दिरको अवस्था जीर्ण बन्दै जानु दुःखद् भएको उनको भनाइ छ।
स्थानीयवासीले मठको जग्गा तथा सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गर्न, जग्गाको संरक्षण गर्न, निष्क्रिय व्यवस्थापन समिति पुनर्गठन गर्न तथा मन्दिरको भौतिक संरचना तत्काल मर्मत गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीयको भनाइमा, करोडौँ मूल्यको सम्पत्ति रहेको ऐतिहासिक धार्मिक स्थललाई संरक्षण गर्न नसकिए मठको सम्पत्ति क्रमशः अतिक्रमण र दुरुपयोगको जोखिममा पर्न सक्ने भएकाले गुठी संस्थान, स्थानीय तह र सम्बन्धित सरोकारवाला निकायले तत्काल ध्यान दिन आवश्यक छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

