Rashtriya Dainik

अक्सिजन प्लान्ट खरिदको टेण्डरमा ठेकेदारले ल्याइदिए जेनेरेटर

४ जेठ, सुर्खेत । कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको आरोप लागेको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिदको लागि ठेक्का दिएको ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको छ ।

जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन प्लान्ट खरिदको लागि बोलपत्र आह्वान गरेको थियो । अक्सिजन प्लान्ट खरिदको जिम्मा सुर्खेतमा रहेको ड्रागन मेडिटेकले पाएको थियो । तर उसले अक्सिजन प्लान्ट ल्याउने सम्झौता विपरीत आफूखुसी अक्सिजन सिस्टम जेनेटर ल्याएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए ।

निमित्त निर्देशक खड्काका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय र सल्यान अस्पतालले अक्सिजन प्लान्ट खरिद गर्न सूचना निकालेको थियो । तर, ठेकेदारले आफूखुसी अक्सिजन प्लान्ट नभई अक्सिजन सिस्टम जेनेटर खरिद गर्दा विवादमा आएको बताएका छन् ।

निर्देशनालय र अस्पतालले अक्सिजन प्लान्ट खरिदका लागि आवश्यक सूचना गरेपनि आयातकर्ता ठेकेदारले अर्कै सामग्री पठाएको र त्यो माग अनुसारको सामग्री नभएकाले त्यसलाई नराखिने निमित्त निर्देशक खड्काले बताए ।

‘सम्झौता विपरीत सामग्री गएको पाइएको छ, यसबारे हामीले छलफल गरिरहेका छौं,  अझै ठेकेदारलाई भुक्तानी दिइएको छैन्, सामग्री फिर्ता पनि हुन सक्छ,’ खड्काले अनलाइनखबरसँग भने ।

उक्त मेसिन १२ दिन अगाडि अस्पतालमा ल्याइए पनि शनिबार मात्रै जडान गरिएको थियो । अक्सिजन प्लान्टको ठाउँमा ‘अक्सिजन कन्सर्नट्रेटर’ भएको जडानका क्रममा थाहा पाइएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताए ।

उक्त मेसिनलाई फिर्ता पठाउनुको विकल्प नरहेको प्रमुख श्रेष्ठ बताए । ‘कसैको पनि दबाबमा नपरी उक्त मेसिन फिर्ता गर्छाैं, यो चाहिनेभन्दा बाहिरको अनावश्यक सामग्री भएकाले यसलाई फिर्ता पठाउनुको विकल्प छैन्,’ उनले भने ।

उता, आयातकर्ता ड्रागन मेडिटेकका संयोजक गगन शाहीले भने अक्सिजन सिस्टम जेनेरेटरले पनि अक्सिजन कन्सर्नट्रेटर र अक्सिजन प्लान्ट जस्तै अक्सिजन उत्पादन गर्ने भएकाले नयाँ मेसिन खरिद गरिएको बताए ।

‘यसले पनि अक्सिजन प्लान्ट र कन्सर्नट्रेटरको जस्तै काम गर्छ, योबाट प्रति मिनेट ४० लिटर अक्सिजन उत्पादन हुन्छ,’ उनले भने, ‘निर्देशनालय र अस्पतालले निकालेको सूचनाकै आधारमा मेसिन खरिद गरिएको हो ।’ शाहीका अनुसार उक्त मेसिन राजस्व बिना ३५ लाखमा खरिद गरेको हो ।

अक्सिजनको अभावका कारण कैयौं बिरामीहरुले ज्यान गुमाउनु परेको छ । तर यो खरिद प्रक्रियामा कमिसनको खेल रहेकोले यो विवादमा आएको स्थानीयले आरोप लगाएका छन् । खरिद प्रक्रिया विवादमा आएसँगै छानविनको लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति नै गठन भएको छ । अनियमितताबारे छानबिनको लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो ।

अक्सिजन प्लान्ट खरिदबारे विवाद भएपछि स्वास्थ्य कार्यालयका कर्मचारीलाई बोलाएर छलफल गरेको र  कर्मचारीहरूले पनि यसबारे अनभिज्ञ रहेको बताएको प्रजिअ हुमागाईले बताइन् ।

अलिबाबाको अनलाइन सपमा २ लाख ४६ हजारदेखि २ लाख ८१ हजारसम्म पर्ने अक्सिजन कन्सन्ट्रेटरलाई स्वास्थ्य कार्यालय सल्यानले ५१ लाखमा खरिद गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी समेत आएको प्रजिअ हुमागाईंको भनाइ छ ।

मेसिन प्राविधिक विषय भएकोले छानविन टोलीको प्रतिवेदनपछि मात्र वास्तविक कुरा बाहिर आउने उनले बताइन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित