काठमाडौं । प्रेस काउन्सिल नेपालले गैरपत्रकारलाई प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग नगर्न सचेत तुल्याउँदै कारवाहीको चेतावनी दिएको छ । प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले लकडाउनको अवधिमा प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग बढेको सन्दर्भमा आइतबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘केही गैरपत्रकार व्यक्तिले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेर समाजमा भ्रम छरिरहेका समाचारहरु आउन थालेका छन् ।’
विज्ञप्तिमा नेपाल पत्रकार महासंघ, सूचना तथा प्रसारण विभाग र सम्पूर्ण व्यावसायिक पत्रकारलाई पनि यस विषयमा गम्भीर हुन आग्रह गरिएको छ ।

‘नक्कली प्रेस पास र आफ्नै ढंगको प्रेस ज्याकेट बनाएर त्यसको आवरणमा विभिन्न आपराधिक क्रियाकलाप गर्दै व्यावसायिक पत्रकारिताको हुर्मत लिनेहरूलाई यस्तो गलत कार्य नगर्न प्रेस काउन्सिल नेपाल चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि यस्ता गतिविधि नरोकिएमा र प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग गरी गैरपेशागत कार्य गरेको पाइएमा काउन्सिल कडा कारवाही गर्न बाध्य हुने हुँदा यस्तो कार्य नगर्न नगराउन यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

