Rashtriya Dainik

एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्री नियुक्त भएका छन्। पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए। तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादीलगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो । उक्त समय भित्र  धारा ७६(२) अनुसार कसैको पनि दाबी नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरे पनि अन्तिम समयमा आएर नेकपा एमालेको खनाल-नेपाल पक्षले असहयोग गरेपछि वैकल्पिक सरकार बनाउने योजना खेर गएको थियो।

एमालेमा माधवकुमार नेपाल पक्षले राजीनामा नगरेर पार्टीभित्रको विवाद मिलाउन प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एक महिनाको समय दिएको छ।

बिहीबार ओलीसँग चपली हाइटमा झन्डै चार घन्टा भएको वार्तापछि नेता नेपालले संवाददाताहरूसँग भने- अब राजीनामाको कुरा दुई-चार दिनलाई टर्‍यो।

उनले ओलीले फागुन २८ गते गरेको निर्णय फिर्ता गर्ने र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन अब विभिन्न तहमा छलफल हुने बताए।

नेपाल पक्षले राजीनामा नगरेपछि ओलीको तत्कालको समस्या टरेको छ। कांग्रेस र माओवादी केन्द्रले बहुमतीय सरकार बनाउने प्रस्ताव राष्ट्रपतिकहाँ लैजाने छैनन्। त्यसो भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्भवत: आजै वा भोलि संविधानको धारा ७६ को ३ अन्तर्गत अल्पमतको प्रधानमन्त्रीका रूपमा सपथ गराउने छन्।

प्रधानमन्त्री ओलीको खड्गो भने टरेको छैन।  एक महिनाभित्र उनले संसदमा विश्वासको मत लिनु पर्नेछ।

विश्वासको मत पाएनन् भने उनी फेरि पदमुक्त हुनेछन्। ओली पदमुक्त भएर संविधानको धारा ७६को ५ अन्तर्गत प्रधानमन्त्री बन्ने अवस्था आए त्यसको प्रक्रिया कस्तो हुन्छ भनेर शम्भु थापालगायत अधिवक्ताहरूसँग सल्लाह गरेको थियो।

आउने तीस दिन माधव नेपाल समूहले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिनेछन्।

माग पूरा नभए यसपालिजस्तै विश्वासको मत नदिने अड्को थाप्ने छन्।  प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई तत्काल कारबाही गर्न पनि सक्ने छैनन्। कारबाही गर्ने आधार भने उनीसँग छ। वैशाख २७ गते पार्टीको ह्वीप उल्लंघन गरेर उनलाई विश्वासको मत नदिएबापत् ओलीले नेपाल पक्षीय २८ सांसदको पद खोसिदिन सक्ने छन्। तर त्यसले उनलाई नै विपदमा पार्नेछ।

माधव नेपाल पक्षका सांसदहरू नरहनेबित्तिकै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई गठबन्धनको बहुमत पुग्न सक्छ।

नेपाल समूहले एक महिनापछि प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन् भने त्यसपछि बन्ने राजनीतिक समिकरणको सम्भावना हेरेर नै अहिले ओलीसँग सुलह गरेको छ।

ओली या त नेपाल पक्षसँग सहमतिमा पुग्नु पर्ने या फेरि पदमुक्त हुने खतरा व्यहोर्नु पर्ने अवस्थामा छन्। एक महिनाअघि नै प्रधानमन्त्री ओलीलाई नीति तथा कार्यक्रम र बजेट पास गराउने चटारो पनि छ।

नेपाल पक्षको असहयोगका कारण त्यो फेल भयो भने पनि प्रधानमन्त्री राजीनामा दिने दबाबमा हुनेछन्।

समय घर्किँदै जाँदा नेपाल पक्ष पनि आफ्नै किसिमको दबाबमा हुनेछ। राजीनामा दिने वा एमालेभित्रै बसेर संघर्ष गर्नेमा नेपाल पक्षभित्र मतभेद देखिन्छ।

मंगलबार नेपाल पक्षीय स्थायी कमिटी सदस्यले नेता नेपालसँग जुम मिटिङ गरेका थिए। उक्त मिटिङपछि उनीहरूले एक मतले नेता नेपाल र स्थायी समितिमा रहेका सांसदहरूलाई जुनसुकै बेला जेसुकै निर्णय लिने सहमति दिएका थिए। नेपालसहितका नेताले लिने निर्णय आफूहरूलाई मान्य हुने बताएका थिए। जुम मिटिङसँगै नेपाल पक्षभित्र त्योभन्दा अगाडि देखिएको मतभेद टुंगिएको मानिएको थियो।

आफूहरू राजीनामा दिन तयार रहेको नेता नेपालले कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूलाई जानकारी गराएका थिए। राजीनामाका सर्तहरूबारे पनि छलफल गरेर सहमति जुटाएका थिए।

तर बुधबार साँझसम्ममा नेपाल समूहभित्र फेरि केही सांसदले राजीनामा दिन नहुने तर्क गरे। त्योसँगै नेता नेपाल दबाबमा परे। त्यही दबाबको परिणामस्वरूप उनी आज राजीनामाको सट्टा प्रधानमन्त्री ओलीसँग वार्ता गर्न बाध्य भए।

अब नेता नेपालले आफूनिकट सांसदहरूलाई एकसाथ राखेर केपी ओलीलाई दबाब दिन सक्छन् वा आफ्नो समूहभित्रै आउने दबाबले उल्टो आफैं दबाबमा पर्छन् भने आउने दिनहरूमा थाहा हुनेछ।

त्यसले नै एक महिनापछि राष्ट्रिय राजनीतिको दिशा पनि तय गर्नेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित