नमस्कार ! के छ तपाईंको स्वास्थ्य स्थिति ? भन्दै बाँके, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बिहीबार दिनभरी आफ्नो वडाका कोरोना संक्रमितको घरघरै पुगे । नगरपालिकाले संचालनमा ल्याएको कोभिड अस्थायी अस्पताल र घरै आइसोलेट भएका बिरामीलाई भेटेरै मनोबल बढाउन भन्दै उनी संक्रमितको अवस्था बुझ्न खटिएका हुन् ।
त्यसक्रममा संक्रमितहरुले बेलैमा उपचार पाएका छन् कि छैनन ? स्वाथ्यकर्मीले सोधपुछ गरेका छन् या छैनन् ? उपचारमा केही समस्या छ कि छैन ? लगायतका विषय पनि बिरामीसँग प्रत्यक्ष रुपमा बुझे ।
उनी आफै पनि पहिलो चरणको कोरोना लहरमा संक्रमित भएको अनुभव सुनाउँदै होम आइसालेसनमा बसेका संक्रमितलाई घरेलु औषधि बनाउने तरिकासमेत सिकाएका थिए ।
उमेर ७० नाघेका मेयर रावतका अनुसार परम्परागत रुपमा बुढापाकाले खाने खानपिन, जीवनशैली स्वास्थ्यका लागि लाभदायक रहेको छ । बेसार, बोझो, कुरिलो, मह, तुलसीको पातजस्ता घरमा सजिलै पाइने जडिबुटी सेवन गरेर शरीर स्वस्थ्य हुने उनले बताए । ‘कुरिलो, तुलसी, मह हाम्रा पुर्खौली आयुर्वेद औषधि हुन्’, उनी भन्छन्,‘म ७० नाघे, अहिले पनि नियमित खान्छु ।’
आफू संक्रमित हुँदा उच्च मनोबल बनाएर कोरोनासँग लडेको बताए । सबैभन्दा ठूलो औषधी हिम्मत रहेको र जित्न सक्छु भन्ने आत्मविश्वास बढाउन जरुरी रहेको उनले बताए ।
कोरोना संक्रमितका घर घरमै गएर मेयरले स्वास्थ्य अवस्था सोधपुछ गर्दा स्थानीय जनताले आत्मीय महसुस गरेका थिए । कोहलपुर नगरपालिका १४ की संक्रमित महिलाले जनप्रतिनिधि नै आएर स्वास्थ्य बुझ्दा मनोबल उच्च भएको बताइन् । उनले पाका मेयरसँग परम्परागत आयुर्वेदिक औषधि सेवनका ज्ञानसमेत लिएकी थिइन् ।
कोहलपुर नगरपालिकाले नगरवासीका लागि दुई वटा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको छ । कोहलपुर नगरपालिकाका कोरोना फोकल पर्सन गेहराज खनालले वडामा संक्रमित अधिकांश होम आइसोलसनमा रहेको बताए । अति बिरामी भएकालाई मात्रै अस्पताल भर्ना गरेर अक्सिजनको व्यवस्था मिलाएको उनले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

