राजन कुमार बानिया
पर्सा १८ भदौ
लामो समयदेखि बन्द रहेको पोखरिया प्रादेशिक अस्पतालको एक्सरे सेवा केही दिन सञ्चालनमा आएर पुनः बन्द भएपछि सेवाग्राही थप समस्यामा परेका छन्। एक्सरे मेसिन पटक–पटक मर्मत गरिए पनि केही समयमै पुनः बिग्रिने गरेको छ।
अस्पतालले बिग्रिएको मेसिन मर्मतका लागि दक्ष इन्जिनियर बोलाउनुपर्नेमा पर्याप्त प्राविधिक ज्ञान नभएका मिस्त्रीमार्फत काम गराउँदा समस्या दोहोरिने गरेको स्रोतको दाबी छ। स्रोतका अनुसार यसअघि मेसिन मर्मत गर्न आएका दक्ष इन्जिनियरको पारिश्रमिकसमेत नदिइएको र पछि अन्य व्यक्तिमार्फत मर्मत गराउने गरिएको थियो।
एक्सरे सेवा बन्द हुँदा अस्पतालमा उपचारका लागि आउने विपन्न तथा सर्वसाधारण सेवाग्राही निजी क्लिनिक धाउन बाध्य छन्। निजी क्लिनिकमा महँगो शुल्क तिरेर एक्सरे गराउनुपर्ने बाध्यता रहेको स्थानीय सुरेश महतोले बताए।
स्थानीयका अनुसार अस्पतालमा उपकरण खरिद तथा मर्मतका लागि आएको करिब १८ लाख रुपैयाँ एसी, बेडलगायत अन्य शीर्षकमा खर्च गरिएको छ। तर, लामो समयदेखि समस्या रहेको एक्सरे मेसिन मर्मत तथा सेवा नियमित गर्न प्राथमिकता नदिइएको भन्दै स्थानीयले अस्पताल प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्।
स्वास्थ्य सेवा लिन आउने सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने महत्वपूर्ण उपकरण लामो समयसम्म सञ्चालनमा नआउनु अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी भएको स्थानीयको आरोप छ। उनीहरूले एक्सरे सेवा तत्काल नियमित सञ्चालनमा ल्याउन र मर्मतका नाममा हुने खर्च तथा निर्णय प्रक्रियाको पारदर्शी छानबिन गर्न माग गरेका छन्।
निमित्त मेसु डा. आनन्द रौनियारले मेसिन पुनः बिग्रिएको र बनाउने इन्जिनियर दिल्लीमा रहेकाले केही ढिलाइ भएको बताए। इन्जिनियरसँग अनलाइनमार्फत प्राविधिक सल्लाह लिएर आजै समस्या समाधान गरी एक्सरे सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

