Rashtriya Dainik

भोटेकोसी बाढीपीडितका लागि प्रतापपुर गाउँपालिकाले ५ लाख सहयोग

संजय कुशवाहा / नवलपरासी, १८ भदौ

रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवद्वारा जारी सार्वजनिक अपिलमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

गाउँपालिकाले घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित पुनर्मिलनका लागि सम्बन्धित सबै निकायबाट प्रभावकारी पहल हुनुपर्ने जनाएको छ।

बाढीपीडितको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा ऐक्यबद्धता जनाउँदै सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै गाउँपालिकाको भदौ १८ गते बसेको बैठकको निर्णयअनुसार संघीय सरकारको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष यादवले बताएका हुन ।

उक्त रकम बाढीपीडितको राहत तथा पुनर्निर्माण कार्यमा सदुपयोग हुने विश्वास व्यक्त गर्दै प्रतापपुर गाउँपालिकाले आगामी दिनमा पनि मानवीय तथा विपद् व्यवस्थापनका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित