५ चैत, काठमाडौं । सरकारले मरिच, केराउ, छोकडा र सुपारीमा लगाएको पूर्ण आयात बन्देजलाई हटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको बैठकले पूर्ण बन्देजलाई हटाउँदै परिमाणात्मक बन्देज लगाएको हो ।
मन्त्रिपरिषद्ले पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाएको मन्त्रालयकी उपसचिव एवं सह प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । परिमाणात्मक बन्देज कति लाग्यो भन्ने जानकारी अहिल्यै भन्न नमिल्ने पनि उनले बताइन् । परिमाणात्मक बन्देज बारेको सूचना राजपत्रमा प्रकाशनको तयारी भइरहेको पनि उनको भनाइ छ ।
कोरोना महामारीका कारण देशव्यापी लकडाउन सुरु भएपछि सरकारले धेरै आयात हुने अतिआवश्यक बाहेकको वस्तुहरु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायतको आयातमा पूर्ण बन्देज लगाएको थियो ।
यसअघि औद्योगिक प्रयोजनकालागि कोटा प्रणालीमा मरिच आयात गर्न दिइए पनि नधुल्याइएको मरिच, केराउ, छोकडा र सुपारीमा प्रतिबन्ध कायमै थियो ।
गत असोजमा मन्त्रालयले चालु आर्थिक वर्षमा १५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन दाना मरिच मात्रै ल्याउन पाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

