राष्ट्रिय दैनिक / ३ भदौ
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुराबाट तीन दिनदेखि बेपत्ता ४ वर्षीया गरिमा चौधरी मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन्।
घरबाट करिब १५० मिटर दक्षिणमा लामो समयदेखि खाली रहेको घरभित्र बालिकाको शव फेला परेको हो। स्थानीयवासीले उक्त घरबाट दुर्गन्ध आएपछि झ्यालबाट हेर्दा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार बालिकाको शव नग्न अवस्थामा फेला परेको थियो। घटनास्थलमा उनले लगाएका भित्री वस्त्रसहित अन्य कपडासमेत भेटिएका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको शरीर सुन्निएको र यौनाङ्गमा चोट देखिएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा जबर्जस्ती करणीपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ।
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीले घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा जबर्जस्ती करणीपछि हत्या भएको हुन सक्ने आधार देखिएको बताए। यद्यपि, यौनजन्य हिंसा भए–नभएको तथा मृत्युको वास्तविक कारण शल्यपरीक्षण प्रतिवेदनपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरीले वीरगञ्जबाट तालिमप्राप्त कुकुर झिकाएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहितको टोलीले घटनास्थलको अनुसन्धानको निगरानी गरिरहेको छ।
बालिकाको शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक प्रकाश थापालाई अनुसन्धान अधिकृत तोकिएको प्रहरीले जनाएको छ।
बालिकाको मृत्युमा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि सम्भावित सबै कोणबाट अनुसन्धान तीव्र पारिएको प्रहरीको भनाइ छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

