Rashtriya Dainik

विजयनगर–४ मा जनज्योति माविको चार कोठे भवन शिलान्यास

धर्मेन्द्र कुमार कुर्मी, कपिलवस्तु ,३ भदौ

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शंकरपुर–देउपुरास्थित जनज्योति माध्यमिक विद्यालयमा नयाँ चार कोठे भवन निर्माणको शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्ष तिलकराम कँडेल र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।
पूर्वसांसद स्वर्गीय मंगलप्रसाद गुप्ताको पहलमा विनियोजित बजेटबाट निर्माण हुन लागेको उक्त भवनको लागत करिब १ करोड रुपैयाँ रहेको छ। भवन निर्माणको ठेक्का ब्रेभ कन्स्ट्रक्सन कम्पनीले पाएको छ।


शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षालाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए। नयाँ भवन निर्माणपछि विद्यार्थीले सुरक्षित, व्यवस्थित र सहज वातावरणमा अध्ययन गर्न पाउने उनको भनाइ थियो।


उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यालयको आवश्यकता र विद्यार्थीको चापलाई मध्यनजर गर्दै निर्माण हुन लागेको भवनले शिक्षण सिकाइमा सकारात्मक प्रभाव पार्ने बताइन्। उनले निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिन्।
प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले भवन निर्माणका क्रममा निर्धारित मापदण्ड र गुणस्तर अनिवार्य रूपमा कायम गर्नुपर्नेमा जोड दिए। विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुँदा शैक्षिक गुणस्तर सुधारमा समेत सहयोग पुग्ने उनले बताए।
वडा अध्यक्ष तिलकराम कँडेलले नयाँ भवनले विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउनुका साथै विद्यार्थीलाई पठनपाठनमा थप सहजता प्रदान गर्ने बताए। उनले विद्यालयको समग्र विकासका लागि वडा तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।


विद्यालयकी प्रधानाध्यापक पम्फा कुमारी पाण्डेले नयाँ भवन निर्माणले लामो समयदेखि रहेको कक्षाकोठा अभावको समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताइन्। भवन निर्माणका लागि पहल तथा बजेट व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले नयाँ भवन बनेपछि विद्यार्थीलाई थप व्यवस्थित वातावरणमा पठनपाठन गराउन सहज हुने बताइन्।
शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य टंकबहादुर विश्वकर्मा, मिना सुनार, शिक्षा शाखा प्रमुख शिवकुमार चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार चाई, पूर्वअध्यक्ष खिम खत्रीलगायत विद्यालयका पदाधिकारी, अभिभावक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित