काठमाडौं ,२७ कार्तिक
मिथिलाञ्चलसहित तराई–मधेसका जिल्लामा आज (शुक्रबार) देखि आस्थाको महापर्व छठ सुरु भएको छ। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले पवित्र स्नान गरी शुद्ध तथा सात्त्विक भोजन ग्रहण गर्दै ‘नहाय–खाय’ विधि सम्पन्न गर्दैछन्।
छठ पर्वको पहिलो दिनलाई शरीर र मन शुद्ध गर्ने दिनका रूपमा लिइन्छ। यस दिन व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी शुद्ध भोजन ग्रहण गर्ने परम्परा छ। नहाय–खायका दिन अरवा चामल, चना दाल तथा लौकाको तरकारीलगायत सात्त्विक भोजन खाने चलन रहेको छ।
छठ पर्वलाई लक्षित गर्दै पश्चिम नवलपरासीसहित तराई–मधेसका विभिन्न जिल्लामा नदी, पोखरी तथा जलाशयको सरसफाइ, सजावट र व्यवस्थापन तीव्र पारिएको छ। छठ घाटहरूलाई आकर्षक रूपमा सजाउने तथा पूजाका सामग्री व्यवस्थापन गर्ने काममा स्थानीयवासी जुटेका छन्।
चार दिनसम्म मनाइने यस पर्वअन्तर्गत दोस्रो दिन शनिबार ‘खरना’ विधि गरिनेछ। यस दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ चामल र सक्खरबाट तयार पारिएको खीर भगवान् सूर्यलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्नेछन्।
त्यस्तै, तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ भने पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ। त्यसपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी ‘पारण’ गर्दै व्रत समापन गर्नेछन्।
श्रद्धा, निष्ठा, पवित्रता र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा–आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

