**हेटौँडा ।** मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा सवारी दुर्घटनाको श्रृङ्खला बढ्दै गएको छ। पछिल्लो तीन महिनामा यस सडकखण्डमा भएका विभिन्न दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन्। बिहीबार बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको भीषण दुर्घटनामा एकैपटक १४ जनाको मृत्यु भएपछि सडक सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रो सडकबाट करिब पाँच सय मिटर तल खस्दा चालकसहित १४ जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका स्थानीय बासिन्दा छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका थिए। मृतकमध्ये एकै परिवारका सदस्य तथा एउटै गाउँका आफन्त र छिमेकीसमेत रहेका छन्। दुर्घटनामा अवधेश यादवकी गर्भवती श्रीमती, तीन छोरी र दुई भाइको समेत मृत्यु भएको छ। उनका १४ महिने छोरा घाइते भएका छन्।
ललितपुरको टिकाथलीबाट राति करिब २ बजे छठ मनाउन गाउँ जाने क्रममा रिजर्भ गरिएको उक्त माइक्रो बिहान ५ः४५ बजे दुर्घटनामा परेको थियो। १४ सिट क्षमताको गाडीमा बालबालिकासहित २० जना यात्रु सवार रहेको खुलेको छ।
दुर्घटनाको वास्तविक कारण अझै यकिन भएको छैन। प्रहरीले चालक निदाएको, स्टेयरिङमा समस्या आएको वा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। मकवानपुरका प्रहरी प्रमुख एसपी श्याम खत्रीले दुर्घटनास्थलको अवस्था हेर्दा सडकको साँघुरोपन वा तीव्र मोडका कारण दुर्घटना भएको जस्तो नदेखिएको बताएका छन्।
**तीन महिनामा पटक–पटक दुर्घटना**
भीमफेदी–कुलेखानी सडकखण्डमा पछिल्लो तीन महिनायता भएका दुर्घटनाले सडक सुरक्षाको अवस्थालाई थप चिन्ताजनक बनाएको छ। गत भदौ २ गते भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा स्कारपियो दुर्घटना हुँदा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित छ जना घाइते भएका थिए। उपचारका क्रममा लक्ष्मी बडूको मृत्यु भएको थियो।
त्यस्तै, भदौ ३० गते इन्द्रसरोवर गाउँपालिका–२ स्थित सुकौरामा विद्युतीय गाडी सडकबाट करिब एक हजार मिटर तल खस्दा पाँच जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए।
असोज २० गते भीमफेदी–६ स्थित धानगोदाममा ल्यान्डक्रुजर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।
**छानबिन समिति गठन**
बिहीबारको दुर्घटनाको कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि सदस्य रहेका छन्।
समितिलाई दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना न्यूनीकरणका उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।
**यात्रु विवरणसमेत अभिलेखमा भेटिएन**
दुर्घटनामा परेको माइक्रोका यात्रुको विवरण कुनै पनि प्रहरी चेकपोस्टमा अभिलेख नभेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताएका छन्। फर्पिङ प्रहरी चेकपोस्टमा समेत यात्रुको विवरण नरहेको र लागू गरिएको टाइमकार्डको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।
यस घटनाले सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, यात्रुको विवरण अभिलेख नराख्ने अवस्था र सडक सुरक्षा अनुगमनको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
दुर्घटनापछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण यादवले पीडित परिवारलाई पालिका र व्यक्तिगत रूपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले दुर्घटनाका कारण गाउँ नै शोकमा डुबेको बताउँदै प्रभावित परिवारलाई सक्दो सहयोग गरिने जनाएका छन्।
काठमाडौं–मधेश आवागमनका लागि छोटो दूरीको मार्गका रूपमा प्रयोग हुँदै आएको भीमफेदी–कुलेखानी सडकमा बढ्दो सवारी चापसँगै सुरक्षा चुनौतीसमेत बढ्दै गएको छ। पटक–पटकका दुर्घटनाले सडकको प्राविधिक अवस्था, सवारी साधनको नियमित जाँच, यात्रु क्षमताको पालना र ट्राफिक नियम कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

