Rashtriya Dainik

बेलासपुरमा नक्कली नोट भेटिएको सेवाग्राहीको दाबी, बैंक भन्छ– ‘सुनियोजित रूपमा उचालियो’

राष्ट्रिय दैनिक / नवलपरासी ,२६ असाेज

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुरस्थित नेपाल बैंक लिमिटेड बेलासपुर शाखाबाट चेकमार्फत १२ हजार रुपैयाँ नगद झिकेका एक सेवाग्राहीले आफूले पाएको रकममध्ये १ हजार रुपैयाँ दरका दुई वटा नोट नक्कली रहेको दाबी गरेका छन्।

सेवाग्राहीका अनुसार उनले शुक्रबार बैंकबाट १२ हजार रुपैयाँ नगद बुझेका थिए। रकम लिएर घर पुगेपछि नोट परीक्षण गर्दा १ हजार रुपैयाँका दुई वटा नोट नक्कली रहेको पत्ता लागेको उनको भनाइ छ। बैंकबाटै झिकेको रकममा नक्कली नोट भेटिएपछि आफू आश्चर्यमा परेको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

नक्कली नोट भेटिएको विषय लिएर सेवाग्राही सोमबार बैंक पुगेपछि शाखामा केही समय विवादसमेत भएको बताइएको छ। सेवाग्राहीले बैंकबाट आफूलाई नक्कली नोट दिइएको दाबी गर्दै रकम वितरण प्रणालीप्रति प्रश्न उठाएका छन्। तर बैंकले भने सेवाग्राहीको दाबीप्रति असहमति जनाएको छ। नेपाल बैंक लिमिटेड बेलासपुर शाखाका सहायक शाखा प्रबन्धक एवं सूचना अधिकारी जीवन सिंह रायका अनुसार सेवाग्राहीले शुक्रबार रकम बुझेपछि त्यसै दिन कुनै गुनासो वा जानकारी गराएका थिएनन्।

रायका अनुसार बैंकबाट रकम लिएपछि तत्कालै नोट जाँच गर्नु सेवाग्राहीको पनि दायित्व हो। रकम घर लगिसकेपछि वा केही दिनपछि बैंकमा आएर नक्कली नोट भेटिएको दाबी गर्दै बैंकलाई जिम्मेवार बनाउनु उचित नभएको उनको भनाइ छ।

“शुक्रबार १२ हजार रुपैयाँ रकम लिएर जानुभएको हो। त्यस दिन बैंकमा कुनै गुनासो गर्नुभएन। सोमबार आएर नक्कली नोटको विषय उठाउँदै होहल्ला गर्नुभयो,” रायले भने, “यसले बैंकको प्रतिष्ठामा नकारात्मक असर पार्ने नियत देखिन्छ।”

रायले बैंकले आफ्ना ग्राहकलाई नक्कली नोट वितरण नगर्ने दाबी गर्दै घटनालाई बैंकको प्रतिष्ठामाथि प्रश्न उठाउने किसिमले प्रस्तुत गरिएको बताए। बैंकबाट नगद रकम वितरण गर्दा आवश्यक प्रक्रिया अपनाइने उनको भनाइ छ।

यद्यपि, सेवाग्राहीको हातमा भेटिएका भनिएका दुईवटा नक्कली नोट बैंकबाटै प्रवाह भएका हुन् वा अन्य माध्यमबाट रकममा मिसिएका हुन् भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। यसका लागि नक्कली भनिएका नोटको परीक्षण तथा घटनाको निष्पक्ष छानबिन आवश्यक देखिएको छ।

घटनाले बैंकबाट नगद रकम बुझ्दा सेवाग्राहीले तत्कालै नोट परीक्षण गर्ने र शंकास्पद नोट भेटिए सोही समयमा बैंकलाई जानकारी गराउने विषयको महत्त्वसमेत देखाएको छ। सेवाग्राहीको दाबी र बैंकको प्रतिवादबीचको वास्तविकता भने सम्बन्धित निकायको छानबिनबाट मात्र स्पष्ट हुने देखिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित