बिनोद निगम / नवलपरासी , २५ असाेज
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) बीचको संगठनात्मक समायोजन प्रक्रिया अघि बढेको छ। शनिबार गाउँपालिकाका पाँचवटा वडामा समायोजन कार्यक्रम सम्पन्न गर्दै नयाँ वडा कार्यसमिति गठन गरिएको हो।
पार्टी संगठनलाई वडा तहसम्म विस्तार तथा सुदृढ बनाउने र दुवै पार्टीका नेता तथा कार्यकर्तालाई एउटै संगठनात्मक संरचनामा समेट्ने उद्देश्यले वडा नम्बर १, २, ४, ५ र ६ मा नयाँ कार्यसमिति गठन गरिएको पप्पु यादवले जानकारी दिए।

समायोजनअन्तर्गत पाल्हीनन्दन गाउँपालिका–१ रामपुरवामा गुड्डु पटेलको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति गठन गरिएको छ। त्यसैगरी, वडा नम्बर २ मा राम सजीवन गुप्ताको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको छ।
पाल्हीनन्दन गाउँपालिका–४ मा राजु यादवको अध्यक्षतामा नयाँ वडा कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा कन्हैया बर्मा चयन भएका छन्। प्रह्लाद गौडसहित २३ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन गरिएको पप्पु यादवले बताए।
त्यस्तै, वडा नम्बर ५ को गेरमीमा रामवृक्ष हरिजनको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति गठन गरिएको छ। उक्त कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य तथा पूर्वरक्षा राज्यमन्त्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला सदस्य महेन्द्र गुप्ता र दलित पालिका संयोजक रमाशंकर हरिजनलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई स्थानीय तहसम्म मजबुत बनाउन आपसी सहकार्य, समन्वय र एकतामा जोड दिएका थिए।
यसैगरी, पाल्हीनन्दन गाउँपालिका–६ मा नरेश यादवको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति गठन गरिएको छ। पालिकामा पार्टीको संगठनात्मक गतिविधि अघि बढाउने क्रममा पाँचवटै वडामा नयाँ समिति गठन गरिएको पाल्हीनन्दन गाउँपालिकाका जसपा नेपाल अध्यक्ष व्यासमुनि यादवले जानकारी दिए।

पाँचवटा वडामा नयाँ कार्यसमिति गठन भएसँगै दुवै पार्टीका नेता तथा कार्यकर्तालाई एकीकृत संगठनात्मक संरचनामा समेट्ने प्रक्रिया अघि बढेको छ। नवगठित समितिहरूले स्थानीयस्तरमा पार्टीका गतिविधि सञ्चालन गर्नुका साथै जनताका समस्या, विकास निर्माण र जनसरोकारका विषयलाई उठाउने अपेक्षा गरिएको छ।

समायोजन प्रक्रियाले पाल्हीनन्दन गाउँपालिकामा पार्टीको संगठनात्मक संरचना व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास नेताहरूले व्यक्त गरेका छन्। बाँकी संगठनात्मक गतिविधि तथा समायोजन प्रक्रियालाई समेत अघि बढाउने तयारी रहेको जनाइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

