Rashtriya Dainik

सरावलमा ३५औँ खुल्ला फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा गंगाबस्तीको विजयी सुरुवात

राष्ट्रिय दैनिक / नवलपरासी ,२६ असाेज

विजयादशमीको अवसर पारेर पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३, सरावलमा ३५औँ खुल्ला वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। हिमालय युवा क्लब, सरावल–३ को आयोजनामा सुरु भएको प्रतियोगितामा पश्चिम नवलपरासी र रुपन्देहीका २५ टोली सहभागी छन्।

क्लबका अध्यक्ष रामेश्वर चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य रामानन्ल हरिजन,समाजसेवी अम्बरिष चाैधरी, जिल्ला फुटबल संघका सचिव महेन्द्र चौधरी, पत्रकार एवं क्लबका सल्लाहकार उमेश कुमार बि.क. लगायतको उपस्थिति थियो।

खेउद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले युवालाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा जोड्न खेलकुद प्रभावकारी माध्यम भएको बताए। खेलकुदले युवाको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै अनुशासन, नेतृत्व क्षमता र सामाजिक भावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

“खेलकुदमा युवाको सहभागिता बढाउन सके उनीहरूलाई गलत बाटोमा जानबाट रोक्न सकिन्छ,” अध्यक्ष चौधरीले भने, “स्थानीयस्तरमा हुने यस्ता प्रतियोगितालाई निरन्तरता दिन गाउँपालिकाबाट आवश्यक सहयोग हुन्छ।”

हिमालय युवा क्लबले लामो समयदेखि खेलकुद तथा सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै अध्यक्ष चौधरीले क्लबलाई विगतदेखि नै सहयोग गर्दै आएको बताए। आगामी दिनमा पनि क्लबको आवश्यकता र खेलकुद पूर्वाधार विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता उनले जनाए।

जिल्ला फुटबल संघका सचिव महेन्द्र चौधरीले स्थानीयस्तरका प्रतियोगिता नयाँ प्रतिभा पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको बताए। नियमित प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै उनले खेलाडीलाई अनुशासन, मेहनत र खेलभावनाका साथ अघि बढ्न आग्रह गरे।

खेलकुदको विकासका लागि प्रतियोगिता मात्र पर्याप्त नभएको भन्दै उनले खेलमैदान, प्रशिक्षण तथा अन्य आवश्यक पूर्वाधार निर्माण र संरक्षणमा तीनै तहका सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।

पत्रकार एवं क्लबका सल्लाहकार उमेश कुमार बि.क.ले खेलकुद युवालाई कुलतबाट टाढा राख्ने प्रभावकारी माध्यम भएको बताए। खेलकुदले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उनले स्थानीय तहमा खेलकुद गतिविधिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

बि.क.ले हिमालय युवा क्लब लामो समयदेखि खेलकुद तथा सामाजिक गतिविधिमा सक्रिय पुरानो क्लब भए पनि आवश्यक पूर्वाधारको अभावमा उपेक्षामा परेको गुनासो गरे। क्लबको आफ्नै भवन र खेलमैदान भए पनि पर्याप्त मर्मतसम्भार हुन नसकेको उनले बताए।

क्लबको भवन तथा खेलमैदान मर्मतका लागि प्रदेशसभा सदस्य र सांसदहरूसँग समेत पटक–पटक पहल गरिएको भए पनि अपेक्षित सुनुवाइ हुन नसकेको उल्लेख गर्दै बि.क.ले स्थानीय सरकारबाटै क्लबको पूर्वाधार संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे।

“पुरानो र सक्रिय क्लबको संरक्षणसँगै खेलमैदानको स्तरोन्नति गर्न सके यस क्षेत्रका युवाले अझ राम्रो अवसर पाउनेछन्,” उनले भने।

यसैबीच, प्रतियोगिताको उद्घाटन खेल रोमाञ्चक बनेको थियो। तिलोत्तमा–१७ गंगोलिया र बर्दघाट–१४ गंगाबस्तीबीच भएको खेल निर्धारित समयमा ३–३ गोलको बराबरीमा सकियो।

निर्धारित समयमा विजेता छुट्याउन नसकेपछि भएको पेनाल्टी सुटआउटमा गंगाबस्तीले ३–२ गोलले गंगोलियालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

प्रतियोगिताको कार्यक्रम क्लबका सचिव सुनिल बि.क.ले सञ्चालन गरेका थिए। प्रतियोगिताअन्तर्गत मंगलबार दिउँसो ३ बजे सरावल–२ जावा र बर्दघाट–१४ बीच प्रतिस्पर्धा हुने आयोजक हिमालय युवा क्लबले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित