Rashtriya Dainik

बाढीले खोस्यो घर र खेतीयोग्य जमिन, सुस्ताका ८६ परिवारको पुनःबास खोजिँदै

आरपि उपाध्याय / त्रिवेणी ,२४ असाेज

पश्चिम नवलपरासी नारायणी पारीको सुस्ता थारु टोलमा बाढी पसेर ठूलो धनमाल र खेतीयोग्य जमिन कटान पछि जनप्रतिनिधि सहित प्रमुख जिल्ला अधिकारीहरु समेतको टोलीले शनिबार स्थलगत निरीक्षण गरेका छन।

लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार,सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय,प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल सहित जिल्ला सुरक्षा निकायका प्रमुखहरुले सुस्ताको नदी कटान क्षेत्र अवलोकनका साथै विस्थापित परिवारलाई अस्थायी बासस्थानको लागि छलफल गरेका थिए।


बाढीबाट सुस्ता थारु टोल लगायत क्षेत्रबाट ८६ परिवार बाढी प्रभावित भएपछि ती परिवारहरुलाई वास्तविक छानबिन पछि अस्थायी बासस्थान व्यवस्था गर्न सुस्ता ५ सगरदिनही स्थित ऐलानी जग्गामा व्यवस्थापन गर्न आवश्यक प्रक्रिया पूरा गर्ने बारे छलफल भएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो।

वास्तविक बाढीपीडितको पहिचान गरी पीडितहरुको कहीं कतै कुनै पनि बसोबासको आधार र घरघडेरी नभएको परिवारलाई मात्र वडा कार्यालय र स्थानीय प्रहरी छानबिन र सिफारिसको आधारमा पुन:बास व्यवस्थाको प्रक्रिया अगाडि बढाइने पनि अनौपचारिक छलफल भएको बुझिएको छ।

सुस्ताको थारु टोलमा भएको छलफल कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारले सुस्ता भनेको नेपालको मुटु हो र यो भुमि जननी जन्मभुमि भएकोले यो माटोको रक्षाको लागि बसेका सुस्ता बासीलाई बाढीले ठूलो क्षती पुर्याएकोमा यस क्षति तर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताउनु भयो।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी नेपालले हुरीबतास र बाढीको प्रकोपबाट सुस्ता बासीलाई बचाउन डुङ्गाको व्यवस्था गरी उद्वार गरेको बताउदै बाढीबाट मानवीय क्षति नभएकोमा उद्वार कार्य उपलब्धिमूलक नै रहेको धारणा राख्नुभएको थियो।
कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले २०३८ सालदेखि जनप्रतिनिधिको रुपमा कार्य गर्दै आएको अनुभव रहेको जिकिर गर्दै सम्भावित बाढीले कुनै पनि समयमा खतरा हुन सक्ने हुँदा नेपाल सरकारले तत्काल्बबासस्थान दिने प्रक्रिया बारे पहल गरिनुका साथै बसोबास जहाँ भएपनि सुस्ताको रेखदेख गर्ने गरी भुमिको रक्षा गर्ने कार्यमा सुस्ता बासी अझ बढी गम्भीर रुपमा लाग्ने बताउनु भयो।

सो अवसरमा सुस्ता बचाउ अभियानका अध्यक्ष आदम हुसेन खाँ,लैला बेगम लगायतले पनि बाढीपीडित सुस्ता बासीको पीडालाई सम्बोधन गर्न माग गर्नुभएको थियो।

प्रमुख जिल्ला अधिकारी नेपाल, जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुले सुस्ता ५ को ८ नम्बर प्रती जग्गाको अनुगमन गर्दै आगामी दिनमा विधि र प्रक्रिया अनुसार पीडित परिवारलाई बसोबासको व्यवस्था मिलाइने बारे छलफल भएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित