राष्ट्रिय दैनिक /काठमाडौं ,१९ असाेज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले १५औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
कण्डेलले खुला तर्फबाट सह–महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने उनका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभएको छ।
कण्डेलको सचिवालयले सोमबार अपिल जारी गर्दै महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र, प्रदेश तथा पालिका तहका सभापति, जनसम्पर्क समितिका प्रतिनिधि, शुभेच्छुक तथा शुभचिन्तकसँग उम्मेदवारीलाई समर्थन गर्दै साथ, सहयोग र मत दिन आग्रह गरेको छ।
विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय कण्डेल २०३६ सालदेखि कांग्रेस राजनीतिमा आबद्ध छन्। उनी २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०५५ तथा २०५८–२०५९ मा गृहराज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी कांग्रेस संसदीय दलको सचेतकसमेत भइसकेका छन्।
कण्डेलले कांग्रेसको १२औँ महाधिवेशनमा नवलपरासी जिल्ला सभापति र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारी पाएका थिए। २०७४ मा नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी यसपटक १५औँ महाधिवेशनका लागि सोही क्षेत्रबाट ५९६ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
लामो समयदेखि नवलपरासी केन्द्रित कांग्रेस राजनीतिमा सक्रिय कण्डेलको सह–महामन्त्री उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीतर्फको प्रतिस्पर्धामा उनको प्रवेश भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

