Rashtriya Dainik

मूलपानी सामुदायिक वनको १३औँ साधारण सभा सम्पन्न, २ करोड २९ लाखको कारोबार

मिना केसी / नवलपरासी , १८ असोज ।

मूलपानी सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सुनवल–४ स्थित समूहको भवन परिसरमा सम्पन्न सभामा वन संरक्षणसँगै वैज्ञानिक, योजनाबद्ध र दिगो व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

समूहका अध्यक्ष यज्ञप्रसाद पाण्डेयको अध्यक्षता तथा डिभिजन वन कार्यालय परासीका प्रमुख धनिश्वर न्यौपानेको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेयले वन मानव जीवन, जैविक विविधता, जलस्रोत र वातावरणीय सन्तुलनको महत्वपूर्ण आधार भएकाले संरक्षणसँगै यसको वैज्ञानिक तथा दिगो व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। वन संरक्षण, संवर्द्धन र उचित सदुपयोगबीच सन्तुलन कायम गर्दै उपभोक्ताको हितमा सामुदायिक वनलाई थप प्रभावकारी बनाउँदै लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँका अनुसार वन क्षेत्रको अवस्था र जैविक विविधताको अध्ययन गरी आवश्यकताअनुसार संरक्षण, पुनःउत्पादन, वृक्षारोपण, झाडी सरसफाइ तथा वन डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। महिला तथा युवा सशक्तीकरण, गरिबी न्यूनीकरण, उद्यम विकास, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम व्यवस्थापन तथा संस्थागत विकासका कार्यक्रमलाई समेत प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो।

समूहकी सचिव समीक्षा सिंजापतिले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा वन ऐन, प्रचलित नियमावली, समूहको विधान तथा स्वीकृत वार्षिक कार्ययोजनाअनुसार आर्थिक वर्ष २०८२/८३ का कार्यक्रम कार्यान्वयन गरिएको उल्लेख छ।

त्यस्तै, कोषाध्यक्ष अवधेशकुमार यादवले आर्थिक वर्ष २०८२/८३ मा कटानी सुरु गरी २१ हजार ८ सय ४० क्युबिक फिट काठ उत्पादन गरी घाटगद्दीमा व्यवस्थापन गरिएको जानकारी दिनुभयो। समूहले सोही आर्थिक वर्षमा २ करोड २९ लाख ८५ हजार ६ सय ६८ रुपैयाँ बराबरको कारोबार गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ।

सभामा लेखा समितिको प्रतिवेदन लेखा सदस्य सरोज श्रेष्ठ तथा अनुगमन उपसमितिको प्रतिवेदन सदस्य लुमाकान्त खनालले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा डिभिजन वन कार्यालय परासीका प्रमुख धनिश्वर न्यौपानेले सामुदायिक वनको संरक्षण, संवर्द्धन र सदुपयोगमा उपभोक्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। वन पैदावारको संरक्षणसँगै दीर्घकालीन र दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने भन्दै उहाँले सामुदायिक वनलाई स्थानीय उपभोक्ताको आर्थिक तथा सामाजिक विकाससँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

सभामा सुनवल–४ का वडाध्यक्ष बालकृष्ण पंगेनी, देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने, उपभोक्ता समूहका पूर्व कार्यसमिति सदस्य तिलकराम ढकाल, रमावापुर माध्यमिक विद्यालयका अध्यक्ष ताराबहादुर बलाल तथा मूलपानी वनका सल्लाहकार उमाकान्त उपाध्यायले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा सब डिभिजन वन कार्यालय सुनवलका प्रमुख सुरज गुप्ता, नेपाल रेडक्रस सोसाइटी सुनवलका संयोजक गोपाल लामिछाने, सहिद विजयनगर प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीलगायतको उपस्थिति थियो।

समूहका उपाध्यक्ष प्रभुलाल मौर्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव समीक्षा सिंजापतिले गर्नुभएको थियो।

यसैबीच, मूलपानी सामुदायिक वन उपभोक्ता समूहको पाँचौँ अधिवेशनसमेत जारी रहेको अध्यक्ष यज्ञप्रसाद पाण्डेयले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित