राजन कुमार बानिया
पर्सा १८ असोज
जगन्नाथपुर गाउँपालिकाअन्तर्गत दसौता र इनर्वा भन्सारतर्फ जाने सडकमा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। प्रतिबन्धको विरोधमा स्थानीयले सडकमा चक्काजाम गर्दै प्रदर्शन गरेका छन्।
स्थानीयका अनुसार चारपाङ्ग्रे सवारीसाधनमाथि लगाइएको रोकका कारण सर्वसाधारणको दैनिक आवागमन मात्र नभई एम्बुलेन्स तथा शव बोकेका सवारीसाधनसमेत प्रभावित भएका छन्। अत्यावश्यक सेवासमेत प्रभावित हुने अवस्था सिर्जना हुँदा प्रहरी प्रशासनको निर्णय र व्यवस्थापनमाथि स्थानीयले प्रश्न उठाएका छन्।
स्थानीयवासीले कुन आधारमा चारपाङ्ग्रे सवारीसाधन रोकिएको हो, प्रतिबन्धको आधिकारिक निर्णय कसले गरेको हो र अत्यावश्यक सेवाका सवारीलाई वैकल्पिक व्यवस्था किन गरिएन भन्ने प्रश्न गरेका छन्।
सडकमा चक्काजाम भएपछि यातायात प्रभावित बनेको छ। स्थानीयले तत्काल प्रतिबन्ध हटाई सहज आवागमनको व्यवस्था गर्न माग गरेका छन्। माग सम्बोधन नभए आन्दोलन थप चर्काउने चेतावनीसमेत उनीहरूले दिएका छन्।
यस विषयमा सम्बन्धित प्रहरी तथा प्रशासनिक निकायको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ। प्रतिबन्धको कारण, आदेश दिने निकाय र एम्बुलेन्स तथा शववाहनजस्ता अत्यावश्यक सवारीसाधनका लागि गरिएको व्यवस्थाबारे सम्बन्धित निकायको जवाफ आवश्यक देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

