राष्ट्रिय दैनिक /नवलपरासी,१७ असाेज
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
नवलपरासी–२ बाट खुलातर्फ उम्मेदवारी दिएका कँडेलले ५९६ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
कांग्रेसको क्षेत्रीय अधिवेशनसँगै नवलपरासी–२ मा देखिएको समूहगत प्रतिस्पर्धाबीच कँडेलको यो जितलाई जिल्लाको कांग्रेस राजनीतिमा उनको प्रभावसँग जोडेर हेरिएको छ। क्षेत्रीय अधिवेशनदेखि महाधिवेशन प्रतिनिधि चयनसम्म आइपुग्दा देखिएको शक्ति–समीकरणले आगामी दिनमा जिल्लाको कांग्रेस राजनीतिलाई थप रोचक बनाउने संकेत गरेको छ।
केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका तथा पूर्वगृहराज्यमन्त्रीसमेत रहेका कँडेलका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु पार्टीको आगामी राजनीतिक यात्राका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएसँगै कँडेलको कांग्रेसको आगामी महाधिवेशनमा सहभागिता सुनिश्चित भएको छ। नवलपरासी–२ को परिणामले क्षेत्रीय राजनीतिमा मात्र नभई कांग्रेसको आन्तरिक शक्ति–समीकरणमा समेत नयाँ बहस सिर्जना गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

