राष्ट्रिय दैनिक / नवलपरासी, १७ असोज ।
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
आज बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले बसमा च्यापिएका यात्रुसहित घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको जनाएको छ।
दुर्घटनामा जाजरकोट भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मृत्यु भएको हो। उनलाई बिहान ५ः२६ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घाइतेमध्ये बाँके नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको अवस्था गम्भीर रहेको छ। त्यस्तै गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती थारु, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री र बर्दिया बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्कीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै बर्दिया राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु, बाजुरा स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम र सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकीको अवस्था सामान्य रहेको छ।
बाजुरा स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढाको अवस्थाबारे भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बसमा च्यापिएका थप चार जनाको समेत उद्धार गरी अस्पतालतर्फ ल्याइएको छ। उनीहरूको नाम तथा अवस्थाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

