सुन्धाराको मस्जिद तोडफोड गर्ने पक्राउ राष्ट्रिय दैनिक /काठमाडौँ ,८ कार्तिक डोजर लगाइएको सय वर्ष पुरानो मस्जिदको पुन: निर्माण आजै शिलान्यास सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा शनिबार बिहान तोडफोड भएको छ । शनिबार बिहान जुजुकाजी महर्जनको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको हो । महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सय वर्ष भन्दा पुरानो यो मस्जिद भूमाफियाको तारो बन्ने गरेको बताइन्छ । महर्जनको समूहले मस्जिद भत्काएपछि घटनास्थल पुगेका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए । निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । मस्जिद रहेको काठमाडौं महानगरपालिका-२२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सँधै मस्जिद खाली गर्न धम्क्याउने गरेको बताइन् । मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन् । सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन् । यसैबीच डोजर लगाएर भत्काइएको मस्जिद परिसर पुन: निर्माण सुरु गरिएको छ । मुस्लिम आयोगका अध्यक्ष अन्सारीले भत्काइएको मन्दिरको भागको पुनःनिर्माणको शिलान्यास गरेका हुन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।