Rashtriya Dainik

फागुनमै स्थानीय तहको चुनाव, तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं ,२ असाेज— निर्वाचन आयोगले आगामी फागुनमै स्थानीय तह निर्वाचन गर्नेगरी तयारी अघि बढाएको जनाएको छ। २०७९ वैशाख ३० मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा करिब दुई महिनाअघि नै निर्वाचन गर्ने तयारी आयोगले गरेको हो।

आयोगका आयुक्त राजीव सुब्बाका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन हुने व्यवस्था रहेकाले सोही आधारमा तयारी अघि बढाइएको हो।

आयोगले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा अन्तरजिल्ला मतदानको व्यवस्था लागू गर्ने विषयमा पनि अध्ययन गरिरहेको जनाएको छ। सुरुवातमा केही जिल्ला तथा प्रदेशसभा निर्वाचन क्षेत्रबाट यस्तो व्यवस्था लागू गर्ने तयारी छ।

आयोगले निर्वाचन प्रक्रियालाई क्रमशः डिजिटल प्रविधितर्फ लैजाने र ई–भोटिङ प्रणाली अघि बढाउने तयारीसमेत गरेको छ। विदेशमा रहेका नेपाली नागरिकलाई सम्बन्धित दूतावास वा नियोगमार्फत विद्युतीय मतदान गराउने सम्भावनाबारे पनि अध्ययन भइरहेको आयुक्त सुब्बाले बताएका छन्।

संविधानको धारा २२५ अनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ। कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित