Rashtriya Dainik

राष्ट्रिय परिचयपत्र सेवामा पोखरियामा मनपरी असुलीको आरोप, सेवाग्राहीसँग ३ हजारसम्म मागिएको गुनासो

राजन कुमार बानियाँ /पर्सा, २ असोज

पर्साको पोखरिया नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने क्रममा सेवाग्राहीसँग रकम असुल्ने गरिएको आरोप लागेको छ। विवरण संकलनमा संलग्न व्यक्ति तथा बिचौलियाले सेवाग्राहीसँग प्रतिव्यक्ति ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म रकम लिने गरेको स्रोतको दाबी छ।

स्रोतका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण संकलनका क्रममा दैनिक करिब १० हजारदेखि १५ हजार रुपैयाँसम्म रकम उठ्ने गरेको आरोप छ। यद्यपि, उक्त रकम असुलीबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ।
सेवाग्राहीहरूले विवरण संकलन केन्द्रमा सेवा लिन जाँदा विभिन्न समस्या भोग्नुपरेको गुनासो गरेका छन्। उनीहरूका अनुसार सोमबारदेखि शुक्रबारसम्म कहिले ‘नेट चलेन’ त कहिले ‘सर्भर डाउन छ’ भन्दै सेवाग्राहीलाई फर्काउने गरिएको छ।
टोकन लिएर आएका सेवाग्राहीको टोकनको म्याद सकिएपछि पुनः टोकन लिन लाइन बस्नुपर्ने र अर्को दिनसमेत केन्द्रमा आउनुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ। ग्रामीण क्षेत्रबाट सेवा लिन आउने सर्वसाधारण यसबाट थप समस्यामा पर्ने गरेका छन्।
दुई जनाको विवरण संकलनका लागि ३ हजार रुपैयाँ मागेको आरोप
यसैबीच, केही दिनअघि पकाहामैनपुर गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन गराउन पोखरिया आएकी एक दलित महिलाले आफू र आफ्ना श्रीमान्को विवरण संकलनका लागि एक बिचौलियाले ३ हजार रुपैयाँ मागेको गुनासो गरेकी छन्।
उनका अनुसार उक्त रकम दिन अस्वीकार गरेपछि श्रीमान्को नागरिकतामा रहेको होलोग्राम स्टिकर झिकिएको थियो। नयाँ नागरिकता हुँदाहुँदै होलोग्राम किन नभएको भन्दै विवरण संकलन केन्द्रमा प्रश्न गर्दा आफूहरूलाई हप्काउने तथा धाकधम्की दिने व्यवहार गरिएको उनको आरोप छ।
महिलाका श्रीमान् नवल रामका अनुसार छोरीको विवाहका लागि बैंकबाट ऋण लिन तथा बैंक खाता सञ्चालन गर्न राष्ट्रिय परिचयपत्र आवश्यक परेको हो। यही आवश्यकताका कारण आफूहरू विवरण संकलनका लागि पोखरिया आएको उनले बताए।
उनको गुनासोअनुसार सेवा लिन आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट जानकारी दिनुको सट्टा रकम मागिएको थियो। रकमका विषयमा विवाद भएपछि नागरिकताको होलोग्राम स्टिकरसम्बन्धी विषयमा समेत समस्या सिर्जना भएको उनको भनाइ छ।
रकम नदिने सेवाग्राहीलाई झन्झट दिएको आरोप
स्रोतका अनुसार रकम नदिएका केही सेवाग्राहीको नागरिकतामा रहेको होलोग्राम स्टिकर झिकेर भुइँमा खसालिदिने गरिएको आरोपसमेत छ। त्यसपछि सम्बन्धित सेवाग्राहीलाई नागरिकताको प्रतिलिपि लिएर पुनः आउनुपर्ने अवस्था सिर्जना हुने गरेको बताइएको छ।
त्यस्तै, रकम बुझाएर एजेन्टमार्फत सेवा लिन पुगेका केही व्यक्तिलाई लाइनमा बस्न नपर्ने गरी सेवा उपलब्ध गराउने गरिएको आरोप पनि स्रोतको छ।
स्रोतका अनुसार होलोग्राम नभएको नागरिकतामा समेत सम्बन्धित कर्मचारी वा विवरण संकलनमा संलग्न व्यक्तिले आफैं होलोग्राम स्टिकर टाँसेर राष्ट्रिय परिचयपत्रको प्रक्रिया अघि बढाउने र प्रयोग गरिएको स्टिकर आफूसँगै राख्ने गरेको दाबी गरिएको छ।
यी आरोपका सम्बन्धमा सम्बन्धित विवरण संकलन केन्द्र तथा जिम्मेवार निकायको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।
स्थानीय तथा सेवाग्राहीले घटनाबारे निष्पक्ष छानबिन गरी राष्ट्रिय परिचयपत्र विवरण संकलन प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन माग गरेका छन्।
उनीहरूले विवरण संकलनमा संलग्न व्यक्तिहरूको भूमिका, सेवाग्राहीबाट लिइएको भनिएको रकम, टोकन वितरण तथा नागरिकताको होलोग्राम स्टिकर प्रयोगसम्बन्धी विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित