बिनोद निगम / नवलपरासी , ८ असोज
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा स्थानीयले विकास योजना, बजेट कार्यान्वयन, कर्मचारी व्यवस्थापन र सार्वजनिक खर्चमा अनियमितताको आरोप लगाउँदै अख्तियारमा परेका ८० भन्दा बढी उजुरीको प्रभावकारी छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

स्थानीय अनिल मिश्रले योजना खण्डीकरण, एक्स्काभेसन रेटमा अनियमितता तथा कर्मचारी–निर्माण व्यवसायीको भूमिकामाथि प्रश्न उठाए। पप्पु यादवले कर्मचारी नियुक्ति, बेरुजु तथा झरही नदी सरसफाइ र सडकमा वर्षेनी बजेट खर्च हुने प्रवृत्तिमाथि छानबिन माग गरे।
अख्तियार बुटवल कार्यालय प्रमुख सुनिता नेपालले जनप्रतिनिधि र कर्मचारीलाई कानुनी प्रक्रिया, पारदर्शिता र जवाफदेहितालाई आधार बनाएर काम गर्न आग्रह गरिन्। उनले कर्मचारीलाई ‘प्रभाव र दबाब’बाट टाढा रहेर विधि र प्रक्रियाअनुसार निर्णय गर्न सुझाव दिइन्।

कार्यक्रममा उठेका गुनासोले पाल्हिनन्दनमा विकास निर्माण, बजेट तथा सार्वजनिक स्रोतको उपयोगबारे नागरिक तहमा प्रश्न कायमै रहेको देखाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

