Rashtriya Dainik

देशभर मौसम बदली, बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना

काठमाडौं,७ असाेज । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

बंगालको खाडीको पश्चिम–मध्य भाग आसपास रहेको न्यूनचापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले मौसममा थप प्रभाव पर्ने देखिएको छ।

मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकसित भइरहेको सम्भावित चक्रवातको प्रभावले बिहीबारदेखि असोज १२ गतेसम्म चार दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ।

मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभाग तथा सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित