काठमाडौं,६ असाेज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोलि असोज ७ गते देशभर एकैसाथ पालिका तहको अधिवेशन हुँदैछ। वडा अधिवेशनमार्फत सुरु भएको महाधिवेशन प्रक्रिया अब स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरेको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशन अधिकांश स्थानमा सम्पन्न भइसकेको छ। केही स्थानमा भने विभिन्न कारणले अधिवेशन बाँकी रहेकामा सोमबारसम्म सम्पन्न गर्ने तयारी गरिएको छ।
निर्वाचन समितिले वडा अधिवेशन अधिकांश स्थानमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकाले पालिका अधिवेशन पनि सहज र सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।
प्राकृतिक विपत्ति र विशेष परिस्थितिका बीच पनि निर्वाचन समितिले निर्धारित सांगठनिक कार्यतालिकालाई अघि बढाएको जनाएको छ। बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा सोमबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ। त्यस्तै मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडामा पनि सोमबार अधिवेशन सम्पन्न भएको छ।
यद्यपि, भीषण बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवामा भने केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी गरिएको छ। विशेष परिस्थितिलाई ध्यानमा राखेर रसुवाको अधिवेशन पछि सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
सदस्यता सूची व्यवस्थापनमा प्राविधिक ढिलाइ
कांग्रेस केन्द्रीय समितिले २०८२ पुस २१ गतेसम्म नवीकरण गरेका क्रियाशील सदस्यलाई समेत समेट्ने निर्णय गरेपछि केही स्थानमा सदस्यता सूचीलाई अन्तिम रूप दिन सामान्य ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ।
पुरानो विवरणमा नयाँ नामसमेत समावेश गर्नुपर्ने भएपछि देशभरबाट आएको ठूलो तथ्याङ्क व्यवस्थापन गर्दा केही स्थानमा प्राविधिक समस्या देखिएको समितिको भनाइ छ।
सदस्य सचिव अधिवक्ता कटुवालले सदस्यता सूची व्यवस्थापनमा भएको ढिलाइ कुनै राजनीतिक विवाद वा असमझदारीका कारण नभई प्राविधिक विषय मात्र भएको स्पष्ट पारेका छन्।
पालिकामा पाँच पदाधिकारी निर्वाचित हुने
कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार भोलि हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्।
जसअनुसार एक जना सभापति, एक महिलासहित दुई जना उपसभापति, एक जना सचिव र एक जना सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने वैधानिक व्यवस्था छ।
पालिका कार्यसमितिका सदस्यतर्फ प्रत्येक वडाबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन्। त्यस्तै युवा क्लस्टरबाट एक महिला र दुई खुला सदस्य तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
समावेशी बनाउन थप सदस्य मनोनयन
पालिका कार्यसमितिलाई थप समावेशी बनाउन स्थानीय तहको प्रकृतिअनुसार थप सदस्य मनोनयन गर्न सकिने व्यवस्था पनि गरिएको छ।
जसअनुसार गाउँ कार्यसमितिमा सात, नगर कार्यसमितिमा नौ, उपमहानगर कार्यसमितिमा ११ र महानगर कार्यसमितिमा १३ जना सदस्य मनोनयन गर्न सकिनेछ।
यस्तो मनोनयन गर्दा निर्वाचन प्रक्रियाबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ।
यससँगै वडा अधिवेशनबाट सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अब पालिका तहको नेतृत्व चयन हुँदै क्रमशः माथिल्लो तहमा प्रवेश गर्नेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

