Rashtriya Dainik

लाखौँ खर्चको CCTV घटना हुँदा निष्क्रिय? धोबिनीमा जनप्रतिनिधिको जवाफदेहितामाथि प्रश्न

राजन कुमार बानिया, पर्सा । ६ असोज

पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा चोरी भएको घरमा महिला मृत अवस्थामा भेटिएको घटनापछि सार्वजनिक सुरक्षाका लागि जडान गरिएको भनिएको CCTV क्यामेराको प्रभावकारिता र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ।

धोबिनी–५ निवासी श्रीनिवास साह तुराहाकी ५५ वर्षीया श्रीमती लखराव देवी साह तुराहा सोमबार बिहान घरको दोस्रो तलामा मृत अवस्थामा भेटिएकी थिइन्। प्रहरीका अनुसार घरको झ्याल तथा दराज तोडिएको र गरगहना चोरी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाको कारण तथा मृत्युको वास्तविक कारण भने अनुसन्धान र पोस्टमार्टम रिपोर्टपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।

यसै घटनापछि स्थानीयस्तरमा सार्वजनिक सुरक्षाका लागि जडान गरिएको CCTV क्यामेराको अवस्था र व्यवस्थापनबारे प्रश्न उठेको हो।

स्थानीयका अनुसार धोबिनी–५ क्षेत्रमा करिब ८ लाख रुपैयाँ खर्च गरेर CCTV क्यामेरा जडान गरिएको थियो। तर घटना भएको समयमा घटनास्थल आसपासका केही CCTV क्यामेरा सञ्चालनमा नरहेको स्थानीयको दाबी छ।

स्थानीयको दाबीअनुसार CCTV सञ्चालनमा रहेको भए घटनाको समयमा घटनास्थल आसपासबाट आवतजावत गर्ने व्यक्ति तथा सवारीसाधनको दृश्य अनुसन्धानका लागि महत्वपूर्ण प्रमाण बन्न सक्थ्यो। तर आवश्यक परेको समयमा नै क्यामेरा सञ्चालनमा नरहेको हो भने सार्वजनिक सुरक्षाका लागि गरिएको लगानीको प्रभावकारितामाथि प्रश्न उठ्नु स्वाभाविक भएको उनीहरूको भनाइ छ।

स्थानीयले CCTV खरिद, जडान, सञ्चालन, मर्मतसम्भार तथा निगरानीका लागि भएको खर्चको विवरण सार्वजनिक गर्न माग गरेका छन्। साथै CCTV कहिलेदेखि सञ्चालनमा थियो, हाल किन सञ्चालनमा छैन, नियमित मर्मत तथा निगरानीको जिम्मेवारी कसको हो र घटना हुनुअघि क्यामेराको प्राविधिक अवस्था कस्तो थियो भन्ने विषयमा गाउँपालिकाले स्पष्ट पार्नुपर्ने उनीहरूको माग छ।

सार्वजनिक सुरक्षाका लागि बजेट खर्च गरेर उपकरण जडान मात्रै गर्ने तर त्यसको नियमित सञ्चालन, मर्मतसम्भार र निगरानी प्रभावकारी नहुने हो भने सार्वजनिक स्रोतको उपयोगमाथि नै प्रश्न उठ्ने स्थानीयको भनाइ छ।

उनीहरूले लखराव देवीको मृत्यु तथा घरमा भएको चोरीको निष्पक्ष अनुसन्धानसँगै घटनास्थल आसपास जडान गरिएका CCTV क्यामेरा किन सञ्चालनमा थिएनन् भन्ने विषयमा समेत छानबिन गर्न माग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित