बिनोद निगम / नवलपरासी , ६ असोज
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
मृत्यु हुनेमा पाल्हिनन्दन-५ गेरमी चनारसी तेलीका कान्छा छोरा ३० वर्षीय संजय गुप्ता भन्ने रमेश कुमार गुप्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार भदौ २९ गते साँझ करिब ६ः४० बजे घरअगाडिको सार्वजनिक बाटोमा संजय र सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताबीच विवाद भएको थियो। विवादका क्रममा सुनिलले संजयलाई कुटपिट तथा धक्काधुक्का गरेको आरोप छ।
कुटपिटका क्रममा संजय भुइँमा लडेर टाउकोमा गम्भीर चोट लागेको र अचेत अवस्थामा भेटिएपछि तत्काल उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको प्रहरीले जनाएको छ। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको थियो।
मेडिकल कलेजमा उपचाररत संजयको असोज ६ गते बिहान करिब ५ः०९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले सुनिल प्रसाद गुप्तालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका गुप्तालाई असोज ६ गते नै जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए।
घटनाको कारण,कुटपिटको अवस्था तथा मृत्युको सम्बन्धलगायत विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

