Rashtriya Dainik

मूलपानी सामुदायिक वनको सार्वजनिक सुनुवाइ तथा लेखापरीक्षण सम्पन्न

मिना के.सी. / नवलपरासी, भदौ ३१ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ तथा लेखापरीक्षण सार्वजनिक कार्यक्रम बुधबार सम्पन्न भएको छ।

‘समृद्धिका लागि सामुदायिक वन’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम मूलपानी सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा सम्पन्न भएको हो।

समूहका अध्यक्ष यज्ञप्रसाद पाण्डेयको अध्यक्षता तथा सब–डिभिजन वन कार्यालय सुनवलका प्रमुख एवं वरिष्ठ वन अधिकृत मणिराम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन सुनवल नगरपालिका–४ की वडा सदस्य सीता पाैडेलले संस्थाको ब्यानर पढेर गर्नुभएको थियो।

कार्यक्रममा समूहले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका विभिन्न कार्यक्रम, प्रगति तथा आर्थिक गतिविधिबारे उपभोक्ता तथा सरोकारवालालाई जानकारी गराइएको थियो।
समूहका अध्यक्ष पाण्डेयले प्रस्तुत गर्नुभएको विवरणअनुसार आर्थिक वर्षका लागि २ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएकोमा करिब २ करोड २९ लाख रुपैयाँ बराबरका कार्यक्रम कार्यान्वयन गरिएको छ। यसअनुसार विनियोजित बजेटको ९९.०४ प्रतिशत कार्यक्रम सम्पन्न भएको जानकारी दिइएको छ।
सामुदायिक वनबाट प्राप्त आम्दानीलाई वन संरक्षण, संवर्द्धन तथा पुनरुत्पादन, वन डढेलो नियन्त्रण, बाटो निर्माण, सामाजिक विकास, उपभोक्ताको हित तथा संस्थागत विकासलगायतका क्षेत्रमा परिचालन गरिएको अध्यक्ष पाण्डेयले बताउनुभयो।
उहाँले सामुदायिक वन उपभोक्ताको साझा सम्पत्ति भएकाले यसको संरक्षण, विकास र दिगो व्यवस्थापनमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
“सामुदायिक वन उपभोक्ताको साझा सम्पत्ति भएकाले यसको संरक्षण र विकासमा सबै उपभोक्ताको सहभागिता आवश्यक छ। संस्थाले उपलब्ध स्रोत–साधनलाई पारदर्शी ढंगले परिचालन गर्दै वन संरक्षणसँगै उपभोक्ताको सामाजिक तथा आर्थिक विकासलाई पनि प्राथमिकता दिएको छ,” अध्यक्ष पाण्डेयले भन्नुभयो।

आगामी दिनमा सामुदायिक वनको संरक्षण, विकास तथा दिगो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै उपभोक्तामैत्री कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो। वनबाट प्राप्त स्रोतको सदुपयोग गर्दै वातावरण संरक्षण, रोजगारी सिर्जना तथा सामाजिक विकासका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ थियो।

सार्वजनिक सुनुवाइमा वन कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, सामुदायिक वनका उपभोक्ता, संस्थाका सल्लाहकार, कार्यसमिति, लेखा समिति, अनुगमन उपसमितिका पदाधिकारी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा ताराबहादुर बलाल, गम्भीर खनाल, समासुधिन मुसलमान, डिल्लीराम ढकाल, सालिकराम सापकोटा, खेमलाल पौडेल, अवधेशकुमार यादव, जगरानी यादव, रामप्रसाद ढकाल, राजेन्द्रप्रसाद यादव, मदनमोहन थापा, खेमकुमारी ढेङ्गा, कौशिला देवी भर, विनोद पौडेल, लुमाकान्त खनाललगायतको उपस्थिति रहेको थियो।

सार्वजनिक सुनुवाइमार्फत संस्थाका गतिविधि, कार्यक्रमको प्रगति, आर्थिक कारोबार तथा वर्षभरि सञ्चालन गरिएका कामकारबाहीबारे उपभोक्ता र सरोकारवालालाई जानकारी गराइएको थियो। सार्वजनिक सुनुवाइ तथा लेखापरीक्षण कार्यक्रमले संस्थाको कार्यसम्पादनमा पारदर्शिता, जवाफदेहिता र उपभोक्ताको सहभागिता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको सञ्चालन समूहकी सचिव समीक्षा बलालले गर्नुभएको थियो भने समापन समूहका अध्यक्ष यज्ञप्रसाद पाण्डेयले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित