सुधांशु गिरी / कृष्णनगर, भदौ ३०
कपिलवस्तुको कृष्णनगरमा गणेश मूर्ति विसर्जनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा ईलाका प्रहरी कार्यालय कृष्णनगरमा छलफल सम्पन्न भएको छ।
छलफलमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख कृष्णबहादुर कुँवर, कृष्णनगर नगरपालिका–१ का वडा अध्यक्ष तुंगनाथ चौधरी, वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष रेनुका शर्मा, वडा सदस्य राहुल मोदनवाल, वडा नं. ४ का वडा अध्यक्ष घनश्याम अग्रहरीलगायत कृष्णनगर नगरपालिकाअन्तर्गतका विभिन्न गणेश मूर्ति व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा आगामी असोज ४ र ५ गते हुने गणेश मूर्ति विसर्जनका क्रममा शान्ति सुरक्षा तथा ध्वनि प्रदूषण नियन्त्रणका विषयमा विशेष छलफल गरिएको थियो।
ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख कुँवरले जिल्ला प्रशासन कार्यालय तौलिहवाका सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेबाट प्राप्त निर्देशनअनुसार कपिलवस्तुका सबै प्रहरी चौकी तथा ईलाका प्रहरी कार्यालयहरूमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमका क्रममा अत्यधिक ध्वनि प्रदूषण हुने डीजे, लाउडस्पिकरलगायतका साधन प्रयोग नगर्न/नगराउन पत्राचार भएको जानकारी गराउनुभयो।
डीजे प्रयोगमा रोक लगाउने विषयमा छलफलका क्रममा केही युवाले असहमति जनाएका थिए। उनीहरूले सहमति पत्रमा हस्ताक्षर नगरी छलफलबाट बाहिरिएको बताइएको छ। डीजे बजाउन अनुमति दिनुपर्ने माग गर्दै मिश्रा नाम गरेका व्यक्तिले डीजे प्रयोगका क्रममा कुनै घटना भए त्यसको जिम्मेवारी आफूले लिने बताएका थिए।
छलफलबाट कृष्णनगर बजार तथा आसपासका क्षेत्रमा स्थापना गरिएका गणेश मूर्तिहरू असोज ४ गते आइतबार राति ८ बजेसम्म शिवानगरस्थित पोखरीमा विसर्जन गर्ने सहमति भएको छ।
त्यस्तै, कृष्णनगर नगरपालिका–४ रमवापुरमा रहेका गणेश मूर्तिहरू भने असोज ५ गते सोमबार विसर्जन गर्ने निर्णय गरिएको छ। मूर्ति व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूले निर्धारित समय र स्थानअनुसार विसर्जन कार्यक्रम सञ्चालन गर्ने सहमति जनाएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

