राजन कुमार बानिया
पर्सा ३० भदौ
कालिकामाई गाउँपालिकास्थित कालिका कन्या आधारभूत विद्यालयमा “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ बाल दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका छात्रछात्राहरूले गीत, नृत्य, वक्तृत्वकला लगायतका विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले बालअधिकार, शिक्षा, अनुशासन, भविष्य निर्माण तथा समाजमा बालबालिकाको भूमिकालगायतका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि कालिकामाई गाउँपालिका वडा अध्यक्ष सोनालाल चौउरसिया तथा विशिष्ट अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, युवा प्रतिनिधि, अभिभावक तथा स्थानीयवासीको समेत उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी युवा नेता बुलेट कुमार तिवारीले बालबालिकाको भविष्य निर्माण विद्यालय र अभिभावकको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको बताउनुभयो।
उहाँले बालबालिकालाई गुणस्तरीय शिक्षा, आवश्यक शैक्षिक सामग्री, सुरक्षित तथा अनुकूल वातावरण र आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। “आज बालबालिकाको शिक्षामा गरिएको लगानीले नै भोलि सक्षम, जिम्मेवार र नेतृत्वदायी पुस्ता निर्माण गर्छ,” उहाँले भन्नुभयो।
तिवारीले बालबालिकाको प्रतिभा पहिचान गरी उनीहरूलाई अगाडि बढाउन विद्यालय, अभिभावक, स्थानीय सरकार, राजनीतिक नेतृत्व तथा सामाजिक अभियन्ताबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो। बालबालिकाको भविष्य सुरक्षित गर्नु देशको भविष्य सुरक्षित गर्नु सरह भएकाले उनीहरूको अधिकार र शिक्षाका विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने उहाँको धारणा थियो।
कार्यक्रमका क्रममा विभिन्न छात्रछात्रालाई प्रोत्साहनस्वरूप कलम तथा कापी वितरण गरिएको थियो। शैक्षिक सामग्री प्राप्त भएपछि विद्यार्थीहरूमा थप उत्साह र अध्ययनप्रति सकारात्मक ऊर्जा बढेको आयोजकले जनाएको छ।
कार्यक्रममा रेडियो पोखरियाका अध्यक्ष छठु साह, ताजिन्द्र कलवार, कालिकामाई गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजनिश कुशवाहा, समाजसेवी युवा नेता बुलेट कुमार तिवारी तथा कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौउरसियाललगायत विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
विद्यालयका प्रधानाध्यापक तपसी साहले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।
बालबालिकाको प्रतिभा पहिचान, क्षमता विकास र उज्ज्वल भविष्य निर्माणमा विद्यालयसँगै परिवार, स्थानीय सरकार र समुदायको भूमिका महत्वपूर्ण हुने सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

