तुलसीराम पौडेल
सेमलार, भाद्र १७
रुपन्देहीको बुटवल उपमहानगरपालिका-१५ सेमलार स्थित श्री गणेश ज्ञानज्योती पब्लिक हाइस्कुलमा मंगलबार विद्यार्थी परिषद निर्वाचन सम्पन्न भएको छ। निर्वाचन पश्चात् नव निर्वाचित पदाधिकारीहरुलाई विद्यालयका प्राचार्य कुलराज शर्माले शपथ ग्रहण गराउनुभएको थियो।
विद्यालयमा भएको निर्वाचनमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूसँगै शिक्षक र कर्मचारीहरुले समेत मतदान गरेका थिए। कुल २१५ मतदाता रहेकोमा १९५ जनाको मत खसेको थियो।

निर्वाचनमा छात्र नायक र छात्रा नायक गरी २ पदका लागि ५ वटा विद्यार्थी समूह र २ जना स्वतन्त्र गरी जम्मा ७ पक्षले उम्मेदवारी दिएका थिए।
मतगणनापछि अग्रगामी विद्यार्थी एकता समूहका आर्यन केसीले ६५ मत प्राप्त गरी छात्र नायक पदमा विजयी भएका छन्। उनको चुनाव चिन्ह “हिमाल” थियो। त्यस्तै सृजनशिल विद्यार्थी एकता समूहकी आस्मा रिजालले ७३ मत ल्याएर छात्रा नायक पदमा विजय हासिल गरेकी छन्। उनको चुनाव चिन्ह “इन्द्रेणी” थियो।
निर्वाचनमा सहभागी अन्य समूहहरुमा नव सोच विद्यार्थी एकता समूह, प्रगतिशील विद्यार्थी एकता समूह र सचेत विद्यार्थी एकता समूह रहेका थिए।
कार्यक्रम विद्यालयका प्राचार्य कुलराज शर्माको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम शर्मा काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा निर्वाचन सहजकर्ता मेघराज अर्यालले निर्वाचन प्रक्रिया सहज बनाएका थिए भने कार्यक्रम संचालन विद्यालयका सह-प्राचार्य लेखनाथ पौडेलले गरेका थिए।

कार्यक्रमका अध्यक्ष एवं प्राचार्य कुलराज शर्माले निर्वाचित विद्यार्थीहरुलाई शपथ ग्रहण गराउँदै जिम्मेवारीप्रति इमान्दार र सक्रिय भएर लाग्न निर्देशन दिनुभयो। उहाँले विद्यार्थी परिषद निर्वाचनको महत्व र लोकतान्त्रिक प्रक्रियाको बारेमा पनि प्रकाश पार्नुभएको थियो।
प्रमुख अतिथि एवं व्यवस्थापन समितिका अध्यक्ष प्रेम शर्मा काफ्लेले नव निर्वाचित विद्यार्थीहरुलाई बधाई दिँदै विद्यालयको शैक्षिक र अतिरिक्त क्रियाकलापमा सक्रिय भूमिका खेल्न सुझाव दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

