तुलसीराम पौडेल
सियारी, भाद्र १८
भोटेकोशी नदीमा आएको बाढी पहिरोबाट प्रभावित क्षेत्रका नागरिकको राहतका लागि सियारी गाउँपालिका-७ प. अमवा स्थित श्री समीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग गरेको छ।
सहकारीले २०८३ भदौ १० गते रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भएको बाढी पहिरोका पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा रु. १,०७,५००/- सहयोग गर्ने निर्णय गरेको हो।
सहकारीका अध्यक्ष सूर्य नारायण यादव र व्यवस्थापक इन्द्र कुमारी रानाभाटका अनुसार उक्त सहयोग रकम मध्ये संस्थातर्फबाट रु. १,०१,०००/- र कर्मचारीहरुबाट रु. ६,५००/- संकलन गरिएको हो। उक्त रकम सियारी गाउँपालिकाको कार्यालयलाई जानकारी गराउँदै उद्धार कोषमा जम्मा गरिने सहकारीले जनाएको छ।
बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा भौतिक तथा मानवीय क्षति पुर्याएको, राष्ट्रिय गौरवका आयोजनासहित सम्पूर्ण भौतिक पूर्वाधारहरु ध्वस्त भई जनजीवन कष्टकर बनेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सहकारीले मृत आत्माहरुको चिरशान्तिको कामना र घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
अध्यक्ष सूर्य नारायण यादवले भन्नुभयो, “यस्तो दुखद र विपदको समयमा सामाजिक उत्तरदायित्व र मानविय सेवामा हामी समर्पित छौं। यो सानो सहयोगले पीडितको घाउमा थोरै भएपनि मल्हम लागोस् भन्ने हाम्रो कामना छ।”
सहकारीले विज्ञप्ति मार्फत प्रभावित क्षेत्र र नागरिकहरुको उद्धार, खोज, राहत र पुनरुथानमा एक भई सहयोगमा जुट्न सबैमा हार्दिक अपिल समेत गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

