राष्ट्रिय दैनिक / नवलपरासी ,१७ भदौ
जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका अध्यक्ष भगौती यादव (रुदल) को अध्यक्षता तथा माननीय बिक्रम खनालको प्रमुख आतिथ्यतामा समितिको आफ्नै सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह तथा सरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरूले आ–आफ्नो कार्यालय तथा पालिकाबाट वर्षभरि सम्पादन गरिएका काम, विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए।
समीक्षा कार्यक्रममा जिल्लामा भएका विकास निर्माणका गतिविधि, सरकारी सेवा प्रवाहको अवस्था, उपलब्धि तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे समेत छलफल गरिएको थियो। आगामी दिनमा स्थानीय तह र सरकारी निकायबीच थप प्रभावकारी समन्वय र सहकार्य गर्दै विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा माननीय नरेन्द्र गुप्ता, रिङ्गला यादव, प्रदेशसभा सदस्य बैजनाथ जैसवाल, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्लाभरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
वार्षिक प्रगति समीक्षा कार्यक्रममा विभिन्न क्षेत्रबाट भएका प्रगतिको समीक्षा गर्दै आगामी दिनमा देखिएका समस्या तथा चुनौतीलाई समाधान गर्दै विकास निर्माण र जनसेवाका कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्राविधिक सन्देश न्यौपानेलाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा उहाँको कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा पनि जिम्मेवारीपूर्वक काम गर्न शुभकामना व्यक्त गरिएको थियो।
जिल्ला समन्वय समितिले स्थानीय तह, सरकारी निकाय तथा सरोकारवाला निकायबीच समन्वय, सहकार्य र सहजीकरण गर्दै जिल्लाको समग्र विकासलाई प्रभावकारी बनाउन वार्षिक प्रगति समीक्षा कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

