तुलसीराम पौडेल
सियारी, भाद्र १७
रसुवाको भोटेकोसी र नुवाकोटको त्रिशुली नदीमा २०८३ भाद्र १० गते आएको महाविपदमा परेका नागरिकको राहतका लागि रुपन्देहीको सियारी गाउँपालिका अगाडि सरेको छ। गाउँपालिकाले गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको तलब तथा सुविधा कटाएर जम्मा २८ लाख ९ हजार ४ सय ९७ रुपैयाँ संकलन गरी प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ।
सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आफ्नो १ महिनाको सेवा सुविधा बापतको ३३हजार ५ सय रुपैयाँ व्यक्तिगत रूपमा उपलब्ध गराउनुभएको छ। उहाँ सहित उपाध्यक्ष, कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरुले पनि सेवा सुविधा कटाएर सहयोग गरेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र अध्यक्ष घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार कुल संकलित रकम मध्ये गाउँपालिका, वडा तथा जनप्रतिनिधिबाट ५ लाख ८२ हजार ३ सय ५० रुपैयाँ संकलन भएको छ। जसमा विपद व्यवस्थापन कोषबाट २ लाख ५० हजार, ५ नं. वडा कार्यालयको तीज कार्यक्रम शीर्षकबाट ७५ हजार र उपाध्यक्ष सहित कार्यपालिका सदस्यहरुको १५ दिन तथा गाउँ सभा सदस्यहरुको ७ दिन बराबरको सेवा सुविधा बाट २ लाख २३ हजार ८ सय ५० रुपैयाँ रहेको छ।
यसैगरी स्वास्थ्य सेवा सहितका कर्मचारीहरुले पद अनुसार १ देखि ७ दिनसम्मको तलबबाट ८ लाख ३१ हजार २ सय ३० रुपैयाँ र शिक्षकहरुले २ देखि ७ दिनसम्मको तलबबाट १३ लाख ९५ हजार ९ सय १८ रुपैयाँ संकलन गरेका छन्।
विज्ञप्तिमा बाढीपीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभ र बेपत्ता नागरिकको सकुशल उद्धारका लागि नेपाल सरकारसँग अपिल गरिएको छ। गाउँपालिकाले संघसंस्था र आम नागरिकलाई पनि स्वेच्छिक सहयोगका लागि समन्वय गरिरहेको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

