राजन कुमार बानिया
पर्सा १७ भदौ
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन पर्साको धोबीनी गाउँपालिकाले ५ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले सामाजिक सञ्जालमार्फत बाढीपीडितका लागि गाउँपालिकाको तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो।
रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक प्रभावित बनेको अवस्थामा पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले गाउँपालिकाले सहयोग गर्न लागेको अध्यक्ष चौहानले बताउनुभएको छ।
प्राकृतिक विपत्तिको कठिन अवस्थामा रसुवाका बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिकाले सहयोगको हात अघि बढाएको उहाँको भनाइ छ। विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई समेत उहाँले आग्रह गर्नुभएको छ।
गाउँपालिकाले उपलब्ध गराउने ५ लाख ११ हजार रुपैयाँबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री तथा अन्य मानवीय सहयोगमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।
अध्यक्ष चौहानले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत सहयोगका लागि अघि बढ्न आह्वान गर्नुभएको छ।
रसुवामा बाढीपछि उद्धार, खोजी तथा राहत वितरणको कार्य जारी रहेका बेला धोबीनी गाउँपालिकाले गरेको आर्थिक सहयोगको घोषणालाई स्थानीय तहबाट विपद्मा गरिएको मानवीय सहयोगका रूपमा लिइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

