राजन कुमार बानिया
पर्सा १५ भदौ
रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पटेर्वा सुगौली गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
यहि भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट ५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिनेश प्रसाद चौधरीले जानकारी दिए ।
प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, घाइते सबै नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
गाउँपालिकाले जनप्रतिनिधिहरूको मासिक सेवा–सुविधाबाट रकम कट्टा गरी आर्थिक सहयोग गर्ने तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूले पनि नेपाल सरकारको निर्णयबमोजिम सहयोग गर्ने जनाएको छ ।
उक्त निर्णयअनुसार संकलन हुने सम्पूर्ण रकम यथाशीघ्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा दाखिला गरिने प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्पूर्ण नागरिक, संघ–संस्था तथा सरोकारवालाहरूलाई हार्दिक अपिल गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

