Rashtriya Dainik

परासीमा बेपत्ताको सम्झनामा दीप प्रज्वलन

अनिल बनिया / नवलपरासी , १५ भदौँ

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस–२०८३ को अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आइतबार दीप प्रज्वलन गरिएको छ।

एम्नेष्टी इन्टरनेशनल नेपाल नवलपरासी र रामग्राम महिला जेसीजको संयुक्त आयोजनामा भएको कार्यक्रममा द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकको सम्झना गर्दै सत्यतथ्य सार्वजनिक, पीडित परिवारलाई न्याय तथा सम्मानजनक पहिचान सुनिश्चित गर्न राज्यसँग माग गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष राजेश गुप्ताले द्वन्द्वकालीन बेपत्ता तथा हालै बाढीपहिरोमा बेपत्ता नागरिकका परिवारलाई राज्यले आफन्तको अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने बताए। उनले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आधुनिक प्रविधिसहित प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा छानबिन आयोगका अभिलेखअनुसार द्वन्द्वका क्रममा २ हजार ५ सय ६ जना बेपत्ता रहेको र खोजी तथा छानबिनका लागि ३ हजारभन्दा बढी उजुरी परेको जानकारी दिइएको थियो। नेपाल रेडक्रसको अभिलेखमा भने १ हजार ३ सयदेखि १ हजार ३ सय ५० जनासम्म सम्पर्कविहीन रहेको उल्लेख छ।

एम्नेष्टी इन्टरनेशनल नेपाल नवलपरासीका सचिव सुकरात गौंडका अनुसार लुम्बिनी प्रदेशमा बर्दियाका २५४, दाङका १२८, रोल्पाका ४५ र रुकुमका ९७ जना बेपत्ता पारिएका घटना अभिलेखमा छन्। नवलपरासी पूर्व–पश्चिममा समेत २५ देखि ३० जनासम्म द्वन्द्वकालीन बेपत्ताका घटना रहेको उनले बताए।

कार्यक्रममा एम्नेष्टीका पूर्व संयोजक विजयकुमार जयसवाल, अध्यक्ष राजु देवान, सहसंयोजक रञ्जीतकुमार लोहार, रामग्राम महिला जेसीजकी अध्यक्ष बबिता जयसवाललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा द्वन्द्वकालीन बेपत्ता तथा हालैको बाढीपहिरोमा ज्यान गुमाएका र बेपत्ता नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित