काठमाडौं । चर्चित गायक सतिश महर्जनलाई गायन क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ। नेपाल कला–संस्कृति उत्थान समाजले कीर्तिपुरमा आयोजित उनको पहिलो एकल सांगीतिक कार्यक्रम ‘सतिशया सः सांगीतिक साँझ–२०८३’ मा महर्जनलाई चेकसहित सम्मानपत्र प्रदान गरेको हो।
गत शनिबार कीर्तिपुर सिनेफेक्लसमा आयोजित कार्यक्रममा गायक महर्जनको सांगीतिक यात्रा र छोटो जीवनीसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो।
एकल सांगीतिक साँझमा चर्चित गायिकाहरू निशा देशार, रीता महर्जन, रत्नशोभा महर्जन, दीपा महर्जन, सरिता शाहीसँगै नवोदित गायिका रफेला महर्जन र एकता महर्जनले महर्जनलाई गायनमा साथ दिएका थिए।
त्यस्तै, वाद्यवादनतर्फ ड्रमर सुन्दर कुमार महर्जन, कीबोर्डमा राहुल भुजेल, गिटारमा सुरज प्रधान, बेस गिटारमा कृष्ण लिम्बू, बाँसुरीमा संजीव मैनाली, तबला तथा खींमा लक्ष्मीप्रसाद डंगोल, ढोलक–मादलमा सन्देश महर्जन र प्रोग्रामिङमा सुजल नापितले साथ दिएका थिए।
कार्यक्रमका अतिथि तथा गायक महर्जनका गुरु प्रभुराज ढकालले कार्यक्रम उत्कृष्ट भएको बताउँदै महर्जनलाई सधैँ आफ्नो आशीर्वाद रहने बताए।
विशेष अतिथि कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले कार्यक्रम सफल भएकोमा बधाई तथा शुभकामना दिँदै कीर्तिपुरमा सांगीतिक क्षेत्रसँगै कला, संस्कृति तथा सम्पदाको संरक्षण, संवर्द्धन र विकासका लागि आफू निरन्तर लागिरहने धारणा व्यक्त गरे।
प्रमुख अतिथि वरिष्ठ संगीतकार दीपक जंगमले नयाँ प्रतिभालाई वर्षमा कम्तीमा एकपटक आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुपर्नेमा जोड दिँदै गायक महर्जनलाई बधाई दिए। नेपालभाषाको सांगीतिक क्षेत्रमा पछिल्लो समय देखिएको जागरण सकारात्मक रहेको उनको भनाइ थियो।
कार्यक्रममा गायक महर्जनका गुरु रामकृष्ण दुवाल, वरिष्ठ संगीतकार तथा गायक रामेश श्रेष्ठ, वरिष्ठ गायक जुजुकाजी रञ्जित र वरिष्ठ संगीतकार मनराजा नकर्मीलगायतको उपस्थिति थियो।
कीर्तिपुर पाँगा निवासी महर्जनले चार दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान दिँदै आएका छन्। उनले नेपालभाषा तथा नेपाली भाषाका विभिन्न गीतमार्फत दर्शक–श्रोताको मन जित्दै आएका छन्।
महर्जनको पहिलो एकल सांगीतिक साँझ सफल बनाउन नेपाल कला–संस्कृति उत्थान समाजका पदाधिकारी, कलाकार, प्राविधिक, सहयोगी, परिवारजन, गुरुजन तथा शुभचिन्तकहरूले महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
नेपाल कला–संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रम पत्रकार ललेन्द्र शाक्यले सञ्चालन गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

